ऊर्जा मन्त्री पुनलाई नगरबासीले २०२ किलाको माला लगाएपछि ….

काठमाडौं, २८ मंसिर । रौतहटको कटहरीया नगरपालिकामा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई स्थानीयले २०२ किलोको माला लगाएर सम्मान गरेका छन् । मन्त्री पुनले यस सम्मानलाई जनताले कामको जिम्मेवारी सुम्पेको बताएका छन् ।

अनुगमनका लागि रौतहटका आएका मन्त्री पुनलाई कटहरीया नगरपालिकाले १०१ किलो र स्वर्णकार समाज रौतहटले पनि १०१ किलोको माला लगाएर स्वागत तथा सम्मान गरेका हुन् ।

नारायणी नहर, बकैंया बाध, पतौरा शवस्टेसन तथा मौलापुरमा विधुत शाखाको निरीक्षण गरेर मन्त्री पुन कटहरीया बजारको जनसभामा सहभागी भएका थिए । स्थानीयले फूलमालाले स्वागत गरेपछि मन्त्री पुनले रौतहटका दुई ठूला नदी बाग्मती तथा बकैयामा क्षतीग्रस्त रहेका बाँधको काम तत्काल सुरु गराउने बताएका छन् ।

हरेक वर्षामा बाढीको त्रास खेप्ने स्थानीयले लगाइदिएको सयौं किलोको माला र सम्मानलाई आफूले कामको भारी र जिम्मेवारीको रुपमा लिएको मन्त्री पुनले बताएका छन् ।

मन्त्रालायको कागजी प्रतिवेदनमा नारायणी सिंचाइ आयोजनाको नहरले रौतहका किसानलाई सिंचाइको सुविधा पुर्‍याएको भने पनि रौतहटमा रहेको सो नहरमा वर्षौदेखि एक थोपा पानीसमेत नआएको देख्दा आफूलाई दुःख लागेको उनले बताए ।

सिंचाइका लागि नहरमा पानीको व्यवस्थापन गर्न सम्बन्धित कार्यालयलाई खटाउने उनले आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्