एभरेष्ट प्रिमियर लिगमा पोखरा काठमाडौंसँग ५ विकेटले पराजित , पोखराको लिग यात्रा पनि समाप्त

काठमाडौं, मंसिर २८ ।  एभरेष्ट प्रिमियर लिगमा लगातार चौथो हार ब्यहोरेको पोखराको यात्रा लिग चरणमा नै सकिएको छ । आज भएको खेलमा पोखरा काठमाडौंसँग ५ विकेटले पराजित भयो ।
कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६५ रन बनायो । उसका लागि ओपनर रिचार्ड लेभी ३८ रन, सुनील धमला मात्र नौ र कप्तान काहिल काइट्जेर ३७ रनमा आउट भए ।
विनोद भण्डारी १७ रनमा पेभिलियन फर्किएपछि पोखराले एक सय ३९ रनमा चौथो विकेट गुमायो । तर उसका मध्यक्रमका खेलाडी राजेश पुलामी र पल कोलिग्न लगातार रुपमा आउट भएपछि उसले एक सय ५९ रनमा ६ विकेट खेर फाल्यो ।
कोलिग्न ३७ रनमा आउट भए भने राजेश नौ रनमा पेभिलियन फर्किए । बलिङमा विक्रम भुषालले दुई विकेट लिए ।
जवाफमा काठमाडौले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । उसका ओपनर अमित श्रेष्ठ ११ रनमा आउट भए भने रोहन मुस्तफा व्यक्तिगत ४० रनमा पेभिलियन फर्किएपछि काठमाडौले ७७ रनमा दोस्रो विकेट खेर फाल्यो ।
काठमाडौंको स्कोर एक सय रन हुँदा ४ विकेट झरेको थियो । त्यसपछि आनन्द सुब्रमनियम २७ रनमा आउट भएपछि काठमाडौंले एक सय ५८ रनमा पाँचौ विकेट खेर फाल्यो । काठमाडौंको जितमा केभिन ओब्राइनले अविजित ५२ रन बनाए । बलिङमा बिक्रम सोबले दुई विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्