राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस
काठमाडौं, मंसिर २८ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७४र७५ को वार्षिक प्रतिवेदन प्रस्तुत् गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित समारोहमा सवैधानिक व्यवस्थानुरुप प्रधामन्त्री ओलीले उक्त प्रतिवेदन प्रस्तुत् गरेका हुन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले परम्परागत सुरक्षाका साथै नवीनतम् सुरक्षा चुनौतीलाई सामना गर्दै मुलुकको समग्र सुरक्षा व्यवस्था प्रभावकारी बनाउनका लागि नीति निर्माणलगायत सबै व्यवस्थापनका काम गर्न परिषद्का पदाधिकारीलाई सुझाव दिइन् ।
नेपालको संविधानको धारा २६६ मा नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि मन्त्रिपरिषदलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा सुरक्षा परिषद् रहने व्यवस्था छ ।
प्रतिवेदनमा राष्ट्रिय सुरक्षा परिषद्को ऐतिहासिक पृष्ठभूमि, राष्ट्रिय सुरक्षासम्बन्धी व्यवस्था, अन्तर्राष्ट्रिय, क्षेत्रीय र आन्तरिक सुरक्षा परिस्थिति र विश्लेषण गरिएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्बाट आर्थिक वर्ष २०७४र७५ मा सम्पादन भएका कार्य र सचिवालयको स्तरोन्नतिका लागि गर्ने प्रयाससमेत प्रतिवेदनमा उल्लेख छ ।
‘राष्ट्रिय–क्षेत्रीय सुरक्षा चुनौतीबाट खतरा छैन’
समारोहमा प्रतिवेदन प्रस्तुत् गर्दै प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष ओलीले हाल राष्ट्रिय एवं क्षेत्रीय सुरक्षा चुनौतीबाट कुनै खतरा नदेखिएको र राष्ट्रको शान्ति–सुरक्षाको अवस्था सामान्य रहेको जानकारी दिए ।
मुलुकमा संघ, प्रदेश र स्थानीय तीनओटै तहका निर्वाचन भइ कार्यान्वयनमा आएको अवधिका विषयवस्तु प्रतिवेदनमा समेटिएको उल्लेख गर्दै प्रधामन्त्री ओलीले भने–‘परिषद्को निर्णयबाट परिचालन भएको नेपाली सेनाबाट निर्वाचनलाई भयरहित, स्वच्छ र निष्पक्ष निर्वाचन ठूलो योगदान पुगेको छ ।’
प्रतिवेदनमा अन्तर्राष्ट्रिय क्षेत्रमा देखापरेका आतंकवाद, जलवायु परिवर्तनको असर, क्षेत्रीयलगायत आन्तरिक सुरक्षा चुनौती, विखन्डनकारी एवं सशस्त्र समूहका आपराधिक गतिविधि, शरणार्थी समस्या तथा क्षेत्रीय मुलुककबीचको आपसी सहकार्यसमेतका विषयवस्तुका गहन विश्लेषण गरिएको छ ।
सो अवसरमा परिषद्का सदस्य उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा। युवराज खतिवडा, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानसेनापति पूर्णचन्द्र थापा र परिषदका सदस्यसचिव एवं रक्षासचिव विष्णुप्रसाद लम्साल उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस्