काठमाडौं, २८ मंसिर । नेपालमा पर्यटक आगमन हालसम्मकै बढि पुगेको नेपाल पर्यटन बोर्डले जनाएको छ । सन् २०१८ जनवरीदेखि नोभेम्बरसम्मको तथ्याँक अनुसार १० लाख १ हजार ९३० जना विदेशी पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।
बोर्डले यसलाई ऐतिहासिक उपलब्धी भनेको छ । यो संख्या अघिल्लो वर्ष सन् २०१७ को भन्दा करिब १७ प्रतिशतले बढी हो ।
जनवरीदेखि नोभेम्बरसम्म सबै भन्दा धेरै पर्यटक भारतबाट मात्रै २ लाख ६० हजार आएका छन् । यस्तै यस अवधिमा नेपाल आउनेको दोस्रोमा चिनियाँ पर्यटक १ लाख ३४ हजारले नेपाल भ्रमण गरेका छन् । त्यस पछि थाइल्याण्ड, जापान र कोरियाबाट नेपाल आउने पर्यटकको संख्या पनि ठूलो छ ।
अमेरिका र युरोपबाट पनि नेपाल आउने पर्यटकको संख्या उच्च दरले बढ्दो छ । बोर्डका अनुसार त्यहाँका २ लाख २४ हजार पर्यटकले पनि यो अवधिमा नेपालको भ्रमण गरेका छन् ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले यो उपलब्धीलाई ऐतिहासिक सफलता भन्दै सबैको संयुक्त प्रयासले यो उपलब्धी हासिल भएको बताए । नेपाल भ्रमण गर्ने पर्यटकको संख्या वृद्धिले पर्यटन व्यवसायी समेत अत्यन्त उत्साहित भएका छन् । नेपालले सन् २०२० मा २० लाख पर्यटक भित्र्र्याउने लक्ष्यसहित घोषणा गरेको नेपाल भ्रमण वर्ष सफलताका लागि यो आधार हो उनले भनेका छन ।
नेपाल आउने पर्यटक ११ महिनामै १० लाखभन्दा बढी पुग्नु सकारात्मक सुरुवातको रूपमा लिन सकिने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी बताउँछन् । “गत वर्ष हामीले यो वर्ष १२ लाखको लक्ष्य राखेका थियौं र केही हदसम्म पुग्ने देखिएको छ,” जोशीले भने । नेपालको गन्तव्यले संसारभरका पर्यटकलाई नयाँ अनुभव दिनसक्ने संकेत गरेको जोशीको भनाइ छ ।
गत वर्षको यो अवधिमा ५० हजार ६ सय ५२ जना बेलायती नेपाल आएका थिए । पाचौं स्थानमा रहेको जर्मनीबाट ३४ हजार ४ सय ७९ जना पर्यटक नेपाल आएको तथ्यांकमा जनाइएको छ । गत वर्ष २८ हजार ७ सय २ जना जर्मन नागरिक नेपाल आएका थिए । २०१७ को १२ महिनामा ९ लाख ४० हजार २ सय १८ विदेशी पर्यटक नेपाल आएका थिए । २०१६ मा ७ लाख ५३ हजार २ जना पर्यटक नेपाल भ्रमण आएका थिए । यसवर्ष ११ महिनामै गतवर्षभन्दा ६१ हजार ७ सय १२ बढी पर्यटक आएका हुन् ।
कुन महिना कति पर्यटक नेपाल भित्रिए सन् २०१८
जनवरी ६२,६३२ ७३,१८७
फेब्रुवरी ८४,०७१ ८९,५०७
मार्च १,०६,२९१ १,२४,६८६
अप्रिल ८८,५९१ ९८,६५०
मे ६२,७७३ ६८,८२५
जुन ५५,९५६ ६५,१५९
जुलाई ४२,२४० ७३,२८५
अगष्ट ७३,७७८ ८७,६७९
सेप्टेम्बर ६८,६३४ ९१,८२०
अक्टोवर १,१२,४९२ १,०९,७३३
नोभेम्बर ९९,८०४ १,१९,३९९
जम्मा ८,५७,२५२ १०,०१,९३०
प्रतिक्रिया दिनुहोस्