काठमाडौं, मंसिर २७ । नेपालका लागि बेलाएतका राजदूत रिचर्ड मोरिसले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएको समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई आफूहरुले सघाएर काम गर्नका लागि तयार रहेको बताएका छन् ।
मकवानपुर उद्योग वाणिज्यसंघको आयोजनामा बिहीबार हेटौंडामा भएको पत्रकार समेलनमा बोल्दै उनले नेपालका सडक निर्माण र खानेपानीको क्षेत्रमा धेरैतिर काम गरिरहेको बताए ।
नेपालसँगको सम्बन्ध २ सय २ वर्ष लामो रहेको बताउँदै नेपालमा एक हजार किलोमिटर सडक निर्माण गरिदिएको र अरु क्षेत्रमा पनि धेरै खालका काम भएको बताए ।
भूकम्पछिमात्रै बेलायत सरकारले नेपालमा २ सय ५० वटा खानेपानीका योजना निर्माण गरेको र प्रदेश तीनमा मात्र एक सय ३० किलोमिटर सडक निर्माण गरिएको राजदूत मोरिसले बताए । नेपालमा आएपछि काठमाडौंलाई मात्र भन्दा पनि पुरै नेपालको समस्यालाई हेरेर काम गरिने उनको भनाइ छ ।
तीन नंम्बर प्रदेश सरकारले लगानीका लागि उचित वातावरण बनाएमा काम गर्नका लागि आफूहरु तयार रहेको पनि उनले बताए । अन्तर्रा्ष्ट्रिय लगानीका लागि यहाँको औद्योगिक वातावरण राम्रो हुनुपर्ने उनले बताए ।
बिहीबार बिहान राजदूत मोरिसले तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग भेट भेट गरेका थिए । बुधबार उनले आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेल, जिल्ला समन्वय समिति र स्थानीय तहका पदाधिकारीहरुसँग भेट गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्