काठमाडौं, मंसिर २७ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा १२ करोड रुपैयाँको लगानीमा प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ।
काभ्रेस्थित धुलिखेल नगरपालिकाका उद्योगी माधव धिताल र पाँचखाल नगरपालिकाका उद्योगी जयकृष्ण आचार्यको संयुक्त लगानीमा १२ करोड रुपैयाँको लगानीमा प्रदेशस्तरीय उद्योग निर्माण गर्न थालिएको हो।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ स्थित औद्योगिक क्षेत्रको दुई रोपनी जग्गा ४० वर्षका लागि लिजमा लिएर दुग्ध उद्योग निर्माण अघि बढाइएको उद्योगी धितालले जानकारी दिए।
’गत वर्षको मङ्सिरदेखि उद्योग निर्माण सुरु गरिएकामा अब ३ महिनाभित्रै निर्माण पूरा गरी सञ्चालनमा ल्याउँछौं’, उनले थपे, ’हाल बजारको माग झन्डै ७ हजार लिटर छ तर २ हजार लिटर अझै अपुग छ। पच्चिस वर्षदेखि दुग्ध व्यवसाय गर्दै आएका उद्योगीद्वयले हाल काठमाडौंमा दैनिक १५ हजार लिटर दूध आपूर्ति गर्दै आएका छन्।
हाल यहाँका पशुपालक किसानबाट दूध सङ्कलन गरेर सम्भव नहुने भएकाले बुटबलबाट ल्याएर भए पनि प्रतिदिन २ हजार लिटर बजारमा र्पुयाइएको धितालले जानकारी दिए। उनले आगामी दिनमा उद्योगले कर्णाली प्रदेशमा दैनिक १५ हजार लिटर दूध बजारमा र्पुयाउने लक्ष्य राखेको बताए।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले बुधबार निर्माणाधीन उद्योग अवलोकन गरी प्रदेश सरकारले आवश्यक सहयोग गर्ने वचन दिएका छन्।
कानूनमन्त्री भण्डारी प्रदेशस्तरीय छापाखानाको सम्भावित क्षेत्र, त्यसको दिगोपन तथा सुरक्षा अवस्था र कृषिमन्त्री केसी निर्माणाधीन दुग्ध उद्योगलगायत कृषिसँग सम्बन्धित उद्योग अवलोकन गर्न औद्योगिक क्षेत्रमा पुगेका थिए।
प्रतिक्रिया दिनुहोस्