प्रदेश ५ को हिउँदे अधिवेशन शुरु : प्रदेशको राजधानी र नामाकरण समितिको म्याद थप

काठमाडौं, २६ मंसिर ।   प्रदेश ५ को प्रदेशसभाको हिउँदे अधिवेशन बुधबारदेखि शुरू भएको छ ।  आज दिउँसोबाट शुरु भएको अधिवेशनका लागि सरकारले १५ भन्दा बढी विधेयक स्वीकृत गरिसकेको छ भने चारवटा विधेयक प्रदेशसभामा दर्ता गरेको छ ।
बैठकमा प्रदेश–५ जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश–५ मा संघसस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश भएको छ ।
चार महिनापछि बसेको तेश्रो अधिवेशन अर्थात हिउँदे अधिवेशन कानून निर्माणमा केन्द्रित गर्न प्रदेश सांसदहरुले माग गरेका छन् ।
त्यस्तै प्रदेशको नामाकरण र स्थायी राजधानी सिफारिस गर्ने विशेष समितिको संयोजक चयन गरेको तथा विशेष समितिको प्रतिवेदन बुझाउने समय थप गरिएको सम्बन्धमा पनि सभामुखले प्रदेशसभालाई जानकारी गराएका छन् ।
प्रदेश सभाले अझै प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोक्न सकेको छैन । आजको संसदमा नेकपाका सचेतक भूमिश्वर ढकाल, कांग्रेस सभासद डिल्ली चौधरी, संघीय समाजवादी फोरमका सांसद सन्तोष पाण्डे, तुलाराम घर्तीलगायतले बोलेका थिए । यस्तै प्रदेशसभाको बैठक स्थललाई थप रंगरोगन गरि नयाँपन दिइएको छ । सभामुखको आसन पछाडि प्रदेशको लोगो राखिएको छ । अबको बैठक पुष ८ गते बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्