प्रदेश ५ को प्रदेश सभाको हिउँदे अधिवेशन आज सुरु हुँदै

काठमाडौं, मंसिर २६ । प्रदेश ५ को प्रदेश सभाको हिउँदे एवंम तेस्रो अधिवेशन आज शुरु हुँदैछ । सरकारको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले दिउँसो १ बजेका लागि बैठक आह्वान गरेकी छन् ।
प्रदेश सभाको हिजो बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, प्रदेश सभा सदस्यले बोल्ने, दोस्रो अधिवेशनबाट पारित भएर प्रमाणिकरण भएका विधेयक सम्बन्धी पत्र पढेर सुनाउने र केही विधेयक छलफलका लागि पेश गर्ने सम्भावित कार्यसूची पारित गरेको छ ।
प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तब्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश ५ संघ संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आजको बैठकमा पेश हुनेछन् ।
आजको बैठकमा विशेषाधिकार समितिको सभापति चयन, प्रदेश ५ को नामाकरण र राजधानी सिफारिसका लागि बनेको विशेष समितिको संयोजक चयन र म्याद थप सम्बन्धी समेत बैठकलाई जानकारी गराउने कार्यसूची तय भएको नेकपाका संसदीय दलका नेता भुमीश्वर ढकालले जानकारी दिए ।
प्रदेश ५ को प्रदेश सभाको वर्षे अधिवेशन साउन २६ गते अन्त्य भएको थियो । प्रदेश सरकारले यो हिंउदे अधिवेशनलाई विधेयक अधिवेशन गराउने गरी झण्डै दुई दर्जन विधेयक तयार गरी सरकारबाट स्वीकृत समेत गराईसकेको छ ।
प्रतिक्रिया दिनुहोस्