इटालीमा रात्रि क्लबमा भागदौड हुँदा छ को मृत्यु

इटालीको मध्य क्षेत्रमा अवस्थित एक रात्रि क्लबमा भएको भागदौडमा परी कम्तिमा ६ जनाको ज्यान गएको र थुप्रै घाइते भएको इटालीका अग्नी नियन्त्रकहरूले जनाएका छन् ।
बिहान १ः०० बजेको समयमा आकस्मिक खलबली मच्चिएको र यसपछि क्लबमा जम्मा भएका युवाहरूबीच भागदौड मच्चिएको थियो ।

अग्नी नियन्त्रण सेवा प्रदायक स्थानीय कार्यालयले ट्वीटरमार्फत प्रेषित एक विज्ञप्तिमा भनिएको छ, “एउटा पिरो गन्धसहितको वस्तुलाई मानिसहरूको भीडबाट छर्किएपछि क्लबमा जम्मा भएका युवाहरू त्रासले भाग्दा कतिपय व्यक्ति लडेका र उनीहरूलाई अन्य व्यक्तिले हतारमा कुल्चेर भाग्ने क्रममा उक्त दुःखद घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।”

स्थानीय सामाचारहरूमा एड्रियाटिक सामुद्रिक तटीय क्षेत्रमा रहेको एन्कोना राज्यको कोरिनाल्डो सहरमा ब्लु लानटर्न क्लबभित्र करिब एक हजार व्यक्तिले मनोरञ्जन लिइरहेका समय एक्कासी भागदौड मच्चिएको बताइएको छ ।

“क्लबमा जब अति तीखो गन्ध फैलियो उक्त समय हामीहरू कन्सर्टको पर्खाइमा नाचेर मनोरञ्जन गरिरहेका थियौँ,” घटनामा घाइते भई उपचाररत एक प्रत्यक्षदर्शी १६ बर्षीय युवकले भने । एजेन्सी

प्रतिक्रिया दिनुहोस्