बिराटनगरद्धारा ललितपुरलाई ३ विकेटले पराजीत, करण केसीको उत्कृष्ट ब्याटिङ

काठमाडौ, मंसिर २२ । एभरेष्ट प्रिमियर लिगमा बिराटनगर बारियर्सद्धारा ललितपुर प्याट्रियर्सलाई ३ विकेटले पराजीत गरेको छ । आज भएको खेलमा करण केसीको उत्कृष्ट ब्याटिङसँगै बिराटनगर बारियर्सले उत्कृष्ट जित हात पारेको छ ।
टियु क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा टस जितेर ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेटको क्षतिमा १०४ रन बनाएको थियो । खराब सुरुवात गरेको ललितपुरले ३९ रन जोड्दा महत्वपूर्ण ४ विकेट गुमाइसकेको थियो । तर, कप्तान ज्ञानेन्द्र मल्ल र सन्नी पटेलले पाँचौं विकेटका लागि ३४ रनको साझेदारी गरे । पटेल व्यक्तिगत २० रनमा आउट भए ।
१०५ रनको सामान्य चुनौती पछ्याएको विराटनगरले ५० रन जोड्दा ६ विकेट गुमाइसकेको थियो । ललितपुरका बलरहरु हावी भएको खेलको १६ औं ओभर बिराटनगरका लागि महत्वपूर्ण रहृयो । रशिद खानले बलिङ गरेको यो ओभरमा करण केसीले एक चौका र एक छक्का हाने । यो ओभरमा मात्र बिराटनगरले १७ रन थप्यो ।

खेलको १७ औं ओभरमा सन्दिप लामिछानेले विकेट लिँदै ललितपुरलाई खेलमा फर्काउने प्रयास गरेका थिए तर, १८ औं ओभरको अन्तिम बलमा रशिदलाई छक्का हानेका करणले अर्को ओभरको पहिलो बलमा सन्नी पटेललाई पछि छक्का हाने ।

अन्तिम ओभरमा बिराटनगरलाई १० रन चाहियो । ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले योगेन्द्र सिंह कार्कीलाई बल थमाए । पहिलो बलमा २ रन दिएका उनको दोस्रो बलमा करणले नै छक्का हानेपछि खेल बिराटनगरको पक्षमा गयो ।

उसले अन्तिम बल खेल्नु अघि ७ विकेट गुमाएर खेल जित्यो । १९ बलको सामना गरेका करणले तीन छक्का र एक चौकाको मदतमा अविजित ३६ रन बनाए ।

विराटनगरले सुरुवात भने ठीकै थियो । ओपनिङमा आएका थिए अनिल कुमार शाह र आशिफ शेख । पहिलो विकेटको रुपमा विराटनगरले १९ रन बनाउँदा ओपनर आशिफ शेखलाई ११ रन गुमायो ।

एक छक्का प्रहार गर्दै आक्रमक खेल खेल्ने मुड बनाएका आशिफको विकेट सन्दीप लामिछानेले लिएका थिए ।

३२ रन हुँदा दोस्रो विकेटको रुपमा कप्तान पारस खड्का गौरभ टमोरको बलमा आउट भएसँगै विराटनगर दबावमा आएको थियो । एकपछि अर्को विकेट पटन हुदै गरेको विराटनगरका लागि कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । अनिलले १९ रन बनाए भने स्मिथ पटेल एक रनमा आउट हुँदा रोल्फ भानडेर मार्वेले शुन्यमै रनआउट हुन पुगे । १०५ रनको सामान्य चुनौती विराटनगरलाई मुस्किल पर्दै जाँदा करणले बिराटनगरलाई खेलमा फर्काए ।

ललितपुरका लागि गौरभ टोमरले ३ विकेट लिए । उनले चार ओभर बलिङ गर्दै १० रन खर्चेर तीन विकेट लिएका थिए । सन्दीप लामिछानेले दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्