राष्ट्रपति भण्डारी आज लुम्बिनी जाँदै

काठमाडौं, मङ्सिर २२ । लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औं स्थापना दिवसका अवसरमा आयोजना हुने विशेष समारोहका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी जाँदै छन्।
स्थापना दिवसका अवसरमा उक्त विश्वविद्यालयको नवनिर्मित सात वटा भवन पनि उद्घाटन गरिने कार्यक्रम रहेको विश्वविद्यालयका निमित्त उपकुलपति तथा रजिष्ट्रार तिलक आचार्यले जानकारी दिए।
विश्वविद्यालयले लुम्बिनी विकास कोष क्षेत्र परिसरभित्र चार र लुम्बिनी नजिकै खडैयामा तीन भवन निर्माण गरेको छ।
बौद्धधर्मको प्रचारप्रसारमा उल्लेखनीय योगदान र्पुयाउने नेपालका ख्यातीप्राप्त बौद्धधर्मका ज्ञाता र विश्वविद्यालयका पूर्वउपकुलपतिका साथै पूर्व रजिष्ट्रारलाई सम्मान पनि गरिने निमित्त उपकुलपति आचार्यले जानकारी दिए।
विशेष समारोहमा प्रदेश नं ५ का प्रमुख उमाकान्त झा, संघीय सरकारका शिक्षामन्त्री गिरीराजमणि पोखरेल, संस्कृतिमन्त्री रवीन्द्र अधिकारीलगायतको सहभागिता रहने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्