क्याबिनेट बैठकः भैंसेपाटीस्थित सैबु आवास क्षेत्रमा आवास बनाउने निर्णय

काठमाडौं, १९ मंसिर । सरकारले राष्ट्रियसभा अध्यक्ष, प्रदेश प्रमुख मुख्यमन्त्री र मन्त्रीहरुका लागि ललितपुरको भैंसेपाटीस्थित सैबु आवास क्षेत्रमा आवास बनाउने निर्णय गरेकोछ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकको निर्णयनुसार राष्ट्रियसभा अध्यक्ष, उपध्यक्ष, उपसभामुख र मन्त्रीहरुका लागि २७ वटा भवन निर्माणको निर्णय गरेको हो । यस्तै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि १४ वटा अवास तथा सम्पर्क कार्यालय बनाईने भएको छ ।

हाल पुल्चोकमा रहेका मन्त्री निवासका १० वटा भवन भने राजकीय अतिथि भवन बनाइने छ । यसका लागि जग्गा अभाव भएमा राष्ट्रिय पुस्तकालय छेवैमा रहेको सरकारी जग्गा समेत उपयोग गर्न सकिने सरकारको निर्णय छ ।

मन्त्रिपरिषद बैठकले नेपाल भारत एकीकृत भन्सार जाँच चौकी वीरगञ्जको स्थापना गर्दा विस्थापित भएर घरबारविहीन हुन पुगेका परिवारलाई प्रति परिवार एक लाख ५० हजार रुपैयाँ र यसअघि मुआब्जा पाएर पनि बसोबासको व्यवस्था गर्न नसकेका परिवारलाई प्रति परिवार एक लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ ।
आज एक विज्ञप्तिमार्फत सरकारका निर्णयहरु सार्वजनिक गर्दै मन्त्री बास्कोटाले पूल्चोकस्थित हाल मन्त्री निवास रहेको परिसरमा समेत १० वटा राजकीय अतिथि गृह निर्माण गर्ने निर्णय भएको बताएका छन् ।

सरकारी भवन निर्माण हुन लागेको उक्त जग्गा अलपत्र भएको जनाउँदै केही समयअघि रातोपाटीले समाचार समेत प्रकाशित गरेको थियो ।

बैठकले केही दिनअघि युनिभर्सल पिस फेडरेसनले पुरस्कारस्वरुप दिएको १ लाख अमेरिकी डलर र सोही बराबरको रकम थपेर प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोषको स्थापना गर्ने निर्णय समेत गरेको छ ।

बैठकले महाकवि लक्ष्मी प्रसाद देवकोटाको आवासलाई संग्राहलय बनाउने निर्णय गरेको छ भने नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदमा नियुक्त सिफारिस गर्न तीन सदस्यीय छनौट समिति समेत गठन गर्ने निर्णय गरेको छ । बैठकले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा विराटनगरका रमेशकुमार पोख्रेललाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्