निर्मलामाथि सामूहिक बलात्कारको आशंकाः काठमाडौँबाट एक र महेन्द्रनगरमा तीन पक्राउ

काठमाडौं, मंसिर २० । बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ ।
यही आशंकामा चारजना पक्राउ परेका छन्, एक काठमाडौँमा र तीन महेन्द्रनगरमा ।
सामूहिक बलात्कार गरेको आशंकामा छिमेकी प्रदीप रावल काठमाडौँ आएपछि पक्राउ परेका हुन् ।
केही युवकले गल्ती आफूहरुले गरेको , तर प्रहरीले अरुलाई दुख दिएको भन्दै आपसमा कुरा गरेको स्थानीयले सुनेका थिए । तिनै कुरा गरेको स्थानीयले न्यससम्बन्धी सूचना प्रहरीलाई दिएका थिए ।
तर, त्यतिन्जेलसम्म चारैजना भारत गएका थिए । चारैजनाको स्केच बनाउन महानगरीय अपराध महाशाखाबाट एक प्रहरीलाई कञ्चनपुर लगिएको थियो । पिछा गर्दै जाँदा प्रदिपलाई काठमाडौँ र अरुलाई महेन्द्रनगरमा समातिएको प्रहरीले जनाएको छ ।
फेरि अर्को टोली गठन गर्ने तयारी
कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा गृह मन्त्रालयले अनुसन्धानका लागि विशेषज्ञ टोली गठन गर्ने तयारी गरेको छ ।
प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई घटनाको अनुसन्धान गर्ने जिम्मेवारी दिइरहेकै बेला अनुसन्धानमा दक्ष रहेका प्रहरी सहभागी गराई विशेषज्ञ टोली गठन गर्ने तयारी भएको हो ।
मन्त्रालयमा बुधबार दिनभर गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, मन्त्रीका सल्लाहकारद्वय सुर्य सुवेदी र इन्द्रजित राई तथा मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदीबीच यस विषयमा छलफल भएको हो ।
प्रतिक्रिया दिनुहोस्