निर्मला हत्या प्रकरणमा प्रहरीबाटै गम्भीर त्रुटि भयो : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं , मंसिर १८ ।निर्मला हत्या प्रकरण प्रकरणमा प्रहरीको पनि गम्भीर त्रुटि भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन्। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा सहभागी हुन मंगलवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन्।

‘निर्मला हत्या प्रकरणमा प्रहरीबाटै गम्भीर त्रुटि भएको देखिएको छ।’ उनले भने,‘घटनालगत्तै प्रहरीले प्रमाण जुटाउनुको सट्टा लापरवाही तरिकाले अनुसन्धान गरेर अपराधीलाई उम्काएको देखियो।’ अझै पनि सरकार नडग्मगाएर अनुसनधान गरिरहेको उनले दाबी गरे। सरकारले ढिलो चाँडो जसरी भएपनि अपराधि पत्ता लगाएर कारवाहीको दायरामा ल्याउने मन्त्री ज्ञवालीको तर्क थियो ।

‘सरकारले घटनाको अनुसन्धान गरिरहेको छ,’ उनले भने,‘ढिलो चाँडो अपराधि पत्ता लगाएर कारवाहीको दायरामा ल्याएर छोड्छौँ।’ मन्त्री ज्ञवालीले वास्तविक दोषी जहाँ गएपनि सुख नपाउने भन्दै सरकारले कानुनी कटघरामा उभाएरै छोड्ने दाबी गरे। निर्मला हत्या प्रकरणमा भिआईपीको कनेक्सनबारे पुष्टि नभएको दाबी गर्दै उनले भ्रमित नपार्न आग्रहसमेत गरे। यदि घटनामा भिआईपीकै कनेक्सन भए कारवाहीको भागेदार हुनुपर्ने उनको भनाई थियो।

त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले पछिल्लो समय भइरहेका घटनाहरुमा गम्भिर बनेको बताईन्। समाजमा हुने सवै खाले हिंसा अन्त्यका लागि तिन वटै तहका सरकार प्रतिवद्ध रहेको बताईन्। सरकारले गर्ने हरेक गतिविधिमा संघीय, प्रदेश र स्थानीय सरकार सहकार्य र समन्वय गरेर अघि बढ्ने बताईन्।

प्रतिक्रिया दिनुहोस्