सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मंगलबार (आज) बाट छैटौं चरणका खेल हुँदै छन् । छैटौं चरणअन्तर्गतको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) ले विभागीय टोली एपिएफ क्लबको सामना गर्दा दिनको दोस्रो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले सरस्वती क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
लामो समयपछि भएको लिगको पाँचौं चरणका खेल सम्पन्न हुँदा साबिकको विजेता मनाङ मर्स्याङ्दी क्लब अपराजित रहँदै शीर्ष स्थानमा छ । मनाङको खातामा १५ अंक छ भने अर्को अपराजित टोली त्रिभुवन आर्मी क्लब दोस्रो र १२ अंकका साथ थ्री स्टार तेस्रो स्थानमा छन् । लिगमा हालसम्म मनाङ र आर्मी मात्र अपराजित टोली हुन्।
मनाङले पाँचवटै खेलमा शतप्रतिशत नतिजालाई निरन्तरता दिएको छ । आर्मीले ४ खेल जितेको छ भने एक खेलमा अंक बाँडेको छ । त्यस्तै फ्रेन्ड्स क्लबले पाँचौं चरणमा आएर पहिलो जित दर्ता गर्दा एनआरटी र मच्छिन्द्र जारी लिगमा जितविहीन टोली हुन्।
राष्ट्रिय टोलीका खेलाडी सबैजसो क्लबमा अनुबन्धित भए पनि उनीहरूको प्रदर्शन अपेक्षाकृत राम्रो हुन सकेको छैन । यस्तै विभागीय टोली आर्मीबाहेक पुलिस र एपिएफले पनि प्रभावशाली प्रदर्शन गर्न सकेका छैनन् । विदेशी खेलाडीको उपस्थितिमा दाबेदार मानिएका तथा अन्य क्लबको प्रदर्शन पनि तुलनात्मक हिसाबले राम्रो देखिएको छ भने केही लय समात्ने क्रममा छन्।
विभागीयबाहेक अन्य टोलीमा गरी कुल ३० विदेशी खेलाडीलाई क्लबले अनुबन्धित गरेको अखिल नेपाल फुटबल संघले जनाएको छ । जसमा दुई दक्षिण एसियाका खेलाडी छन् । मनाङले भारत तथा फ्रेन्ड्सले बंगलादेशका खेलाडीलाई टोलीमा समावेश गरेका छन्।
लिगमा विदेशी खेलाडी राख्न पाउने प्रावधानअनुसार समावेश गरिएका विदेशी खेलाडीले राम्रो प्रदर्शन गर्दा नेपाली खेलाडीको प्रदर्शन भने तारिफयोग्य छैन । हालसम्म मनाङका अञ्जन विष्ट र अफिज ओलावाले र थ्री स्टारका रञ्जन श्रेष्ठ समान ४ गोलका साथ शीर्ष गोलकर्ताको सूचीमा अघि छन्।
प्रतिक्रिया दिनुहोस्