नेपालको लगातार दोस्रो जित, हङकङ ४ विकेटले पराजित

काठमाडौं । नेपालले थाइल्यान्डमा जारी एसीसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्दै सेमिफाइनल पुग्ने सम्भावनलाई बलियो बनाएको छ । दोस्रो खेलमा नेपालले आज हङकङलाई ४ विकेटले हराएको छ ।
हङकङले ८३ रनको लक्ष्य नेपालले २४.१ ओभरमा ६ विकेट गुमाएर ८४ रन जोड्दै जित हासिल गरेको थियो । पहिलो दिन नेपालले थाइल्यान्डलाई १ सय ३३ रनले हराएको थियो । नेपालको जितमा त्रितराज दासले सर्वाधिक २७ रन जोडे । उनले ४६ बलमा ३ चौका प्रहार गरेका थिए ।

ओपनर राजन मगरले १७, सुनिल भण्डारीले अविजित ११ र विशाल विक्रम केसीले ११ रन बनाएका थिए । अर्का ओपनर कुशल मल्ल र नारायण जोशीले समान २ रन जोड्दा कप्तान रित गौतमले रनको खाता खोल्न सकेनन् । हङकङका नसरुल्ला रानाले ३, रौनक कपुर, हुसेन खान मोहम्मद र आर्यन शदर सेट्टीले समान १ विकेट लिए ।

त्यसअघि नेपालले टस जितेर ब्याटिङ गरेको हङकङले ३५ ओभर ९ विकेटको क्षेतिमा ८२ रन बनाएको थियो । नेपाली टोलीका लागि प्रतिश जिसी र अजय कुमार लोनियाले उच्च प्रदर्शन गरेपछि हङकङ कम स्कोरमा समेटिएको हो । ७ ओभर बलिङ गरेका प्रतिशले २ मेडन राख्दै १५ रन दिएर ३ विकेट लिए । त्यत्तिनै ओभरमा ५ मेडन राखेका अजयले मात्र २ रन खर्चेर २ विकेट लिएका थिए । नारायण जोशी र निखिलकुमार सिंहले समान १ विकेट लिए ।

हङकङका लागि आयर्न शरद सेट्टीले सर्वाधिक २४ रन जोडे । कलहन मार्स चालुले १६ र आरुस भागवतले १२ रन बनाए भने बाँकी कुनै पनि खेलाडीले दोहोरो आँकडामा रन बनाउन सकेनन् । हङकङलाई हराउन सके नेपालको अघिल्लो चरणका यात्रा थप सहज हुनेछ । दुई दिनपछि समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्