प्रधानमन्त्री ओलीले भने- भूकम्पबाट पाठ सिकेर विपद व्यवस्थापनको काम गरिरहेका छौ ‘

काठमाडौं, मंसिर १७ ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले विपद् व्यवस्थापनको पूर्व तयारीमा राष्ट्रिय नीतिका साथ काम गरिरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले २०७२ सालमा गएको विनाशकारी भूकम्पबाट पाठ सिक्दै नेपालले विपद् व्यवस्थापनका लागि आवश्यक राष्ट्रिय नीति नै बनाएर काम गरिरहेको बताएका हुन् ।
विपद् व्यवस्थापनसम्बन्धि एसिया प्रशान्त क्षेत्रीय परामर्श समितिको १४ औं बैठकलाई सोमबार काठमाडौंमा उद्घाटन गर्दै उनले भूकम्पले क्षति पुर्याएको संरचनाहरुको पुनस्र्थापना र पुनर्निर्माणको काम सरकारले अहिले पनि गरिरहेको स्मरण गराए ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणको काममा अन्तर्रा्ष्ट्रिय समूदायले गरेको सहयोगको पनि खुलेर प्रशंसा समेत गरे । उनले प्राकृतिक विपत्तिको कुनै सीमा र पूर्वानुमान नहुने उल्लेख गर्दै सूचना, प्रविधि र विज्ञानमा आधारित भएर सरकारले विपद व्यवस्थापनको कामलाई अघि बढाएको पनि स्पष्ट पारे ।
एसिया प्रशान्त क्षेत्रका विपद व्यवस्थापनसम्बन्धि २६ मुलुकका प्रतिनिधिहरु सहभागी रहेको सो बैठक ३ दिनसम्म चल्नेछ । बैठकमा दिगो विकास र विपद् व्यवस्थापन अनुकूलनबारे विस्तृत छलफल हुने एजेन्डा तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्