काठमाडौं, मङ्सिर १६ । मेलम्चीको पानी काठमाडौं ल्याउने प्रक्रिया अझै लम्बिने भएको छ ।
सुरुङ मार्गको फिनिसिङ्ग तथा ठेकेदार कम्पनीलाई रकम भुक्तानीमा भएको ढिलाई लगायतका कारण आयोजनाको काम लम्बिने देखिएको हो ।
आइतबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले आयोजनाको सम्पूर्ण प्राविधिक काम सक्न १ सय ३० दिन लाग्ने जानकारी दिए ।
सन् २०१९ को मार्च भित्र सबै प्राविधिक काम सक्ने उनको भनाइ छ ।
उनले सुरुङ्ग मार्गको ढलानको काम अब २ किलोमीटर मात्र बाँकी रहेपनि अन्य प्राविधिक काम बाँकी रहेको जानकारी दिए ।
सुरुङ्गमार्गमा ३ वटा भेन्टिलेशन, ९ ठाउँमा हाड्रोमेकानिकल र इन्ट्युमेन्टल जडान लगायतका प्राविधिक काम बाँकी रहेको पनि उनले बताए ।
यस्तै निर्माण व्यवसायी कम्पनीलाई तत्काल ३६ करोड भुक्तानी नगरे काम रोक्ने चेतावनी दिएको कार्यकारी निर्देशक कडेलले बताए । यो विषयमा तत्काल निणर्य नभए काम रोकिने उनको भनाइ छ ।
विकास समितिको बैठकमा खानेपानी सचिव, मेलम्ची खानेपानी आयोजना प्रमुख उपस्थित भएपनि खानेपानी मन्त्री बिना मगर भने अनुपस्थित रहिन् ।
प्रतिक्रिया दिनुहोस्