तनहुँमा पराल बोकेको ट्याक्टर दुर्घटना, २ जनाको ज्यान गयो, तनहुँमै चितुवाको आक्रमणबाट बालकको मृत्यु

काठमाडौं , मङ्सिर १६ । तनहुँको घिरिङ गाउँपालिका–३ सिलिङमा शनिबार राति ११ बजे ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ट्याक्टर चालक भीमाद नगरपालिका–१ बस्ने २६ वर्षीय इन्द्रबहादुर नेपाली र घिरिङ गाउँपालिका–३ बस्ने ३६ वर्षीय सुकबहादुर विक रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
सिलिङ भन्ने ठाउँबाट घिरिङ बजारमा पराल लिएर आउँदै गरेको ना६त ६८६० नम्बरको ट्याक्टर सडकबाट करिब १ सय मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
चितुवाको आक्रमणबाट तनहुँमा एक बालकको मृत्यु
चितुवाको आक्रमणबाट तनहुँमा शनिबार राति एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ रहेका छन्।
चितुवाको आक्रमणबाट घाइते भएका बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
खाना खाएर हात धुन घरको आँगनमा निस्केका गुरुङलाई चितुवाले आक्रमण गरेको थियो। छोरा घरभित्र नआएपछि बाबु माइला गुरुङले प्रहरीलाई खबर गरेका थिए। प्रहरी र स्थानीयबासीको सहयोगमा खोजतलास गर्दा घरभन्दा केही तल रहेको खोल्सामा अमृतले लगाएको ज्याकेट भेटिएको थियो।
उक्त खोल्साभन्दा तल अमृत घाइते अवस्थामा भेटिएका थिए। उनको घाँटीमा चितुवाको नङग्राले चिथोरेको थियो।
चितुवाको आक्रमणबाट बालकको ज्यान गएलगत्तै चितुवालाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ।
प्रतिक्रिया दिनुहोस्