राजधानीको माइतीघर मण्डलामा सरकार विरुद्ध प्रर्दशन
काठमाडौ, मंसिर १५ । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिकालाई सरकारले चार महिना हुँदा सम्म पनि न्याय दिन नसकेको दोषी पत्ता लगाएर कारवाही नगरेको भन्दै युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
एसिया प्यासिफिक समिट भइरहेको बेला आज राजधानीमा सरकार विरुद्ध यस्तो प्रदर्शन भएको छ । निर्मलाको फोटो भएको पोस्टर ‘सरकार भेटियो, न्याय भेटिएन’ हातमा लिएर शान्तिपूर्ण प्रदर्शन गरिएको हो । निर्मलाको बलात्कारपछि हत्या गत साउन ११ गते भए पनि सरकारले अहिलेसम्म दोषी पहिचान गरेको छैन।
बालिकाको हत्या भएको यत्रो लामो समय बितिसक्दा पनि न्याय नपाएको भन्दै न्याय माग्दै उनीहरु प्रर्दशनमा उत्रिएका हुन् । ढिलो न्याय दिनु भनेको न्याय नदिनु सरह हुने भन्दै निर्मलाका लागि न्याय माग्दै स्वतस्फूर्त रूपमा आयोजित र्याली माइतीघरदेखि सरकारविरुद्ध नाराबाजी गर्दै बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको छ । प्रदर्शनमा अधिकारकर्मी, विद्यार्थी, लगायत अन्य सयौं ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
निर्मलालाई न्याय माग्दै राजधानी लगायत देशका विभिन्न ठाउँमा टाँसेका पोस्टर प्रहरीले हटाइदिएको छ भने पोस्टर टाँस्नेलाई समेत नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्