प्रधानमन्त्री ओली र टुभालुका सरकार प्रमुखबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं, मंसिर १५ । प्रधानमन्त्री केपी शर्मा ओली र टुभालुका सरकार प्रमुख (गभर्नर अफ जेनेरल) लावोका टाइना इटालेलीबीच शुक्रबार साँझ होटल सोल्टीमा भेटवार्ता भएको छ ।
भेटमा जलवायु परिवर्तनले दुवै देशलाई पारेका असर र त्यसबाट जोगिनका लागि अपनाउनु पर्ने सजगताको विषयमा छलफल भएको छ ।
समुद्रको टापुको देश भएकोले जलवायु परिवर्तनका कारण समुद्रको सतह बढ्दै जाँदा देशकै अस्तित्व खतरामा परेको भन्दै इटालेलीले चिन्ता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले बढ्दो तापक्रमका कारण नेपालका हिमालमा हिउं पग्लिने क्रम बढेको इटालेलीलाई अवगत गराएका थिए ।
‘तपाईंहरु टापुको देशको हामी हिमालयन क्षेत्रको देश । जलवायु परिवर्तनको नकारात्मक असर दुवै देशलाई उस्तै छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्वृत गर्दै परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले भने, ‘समान समस्यामा हामीले समान धारणा बनाएर जानु पर्दछ । जलवायु परिवर्तनको असरबाट जोगिने उपाय खोज्नु पर्दछ ।’
इटालेलीले कुनै पनि देश सानो वा ठूलो जे भएपनि समानताका आधारमा अस्तित्वमा रहने संयुक्त राष्ट्रसंघको मान्यतालाई नेपालले आत्मसाथ गरेकोमा प्रशंसा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्