आजको मौसम: कतै आंशिक बदली, कतै हिमपातको संभावना !

काठमाडौं , मंसिर १५ ।   देशभर चिसो बढ्दै गएका बेला शनिबार देशभरको मौसम सामान्यतया सफा रहेपनि पहाडी भूभागमा आंशिक बदली रहने र उच्च हिमाली भेगका केही स्थानमा सामान्य हिमपातको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद सुजन सुवेदीका अनुसार शनिबार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ भने उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
यस्तै पूर्वी पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वर्षाको संभावना पनि रहेको र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने उनले जानकारी दिए ।
काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढ्दै गएपनि बाक्लो हुस्सु नलाग्ने मौसमविद सुवेदीले बताए । उनले अझै केही दिन हिउँदे पानी पर्ने संभावना नरहेको बताए ।
शुक्रबार काठमाडौँको अधिकतम तापक्रम २०.५ डिग्री सेल्सियस रहेको थियो भने न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो ।
शनिबार बिहान काठमाडौँको तापक्रम ७ डिग्री मापन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्