अफगानिस्तानमा तालिबानको आक्रमणमा परी ९ नेपाली घाइते
काठमाडौ, मंसिर १४ । अफगानिस्तानको काबुलमा तालिबानको आक्रमणमा परी ९ नेपाली घाइते भएका छन् । घाइतेमध्य ६ जनाको अवस्था गम्भीर रहेको छ ।
सुरक्षा गार्ड उपलब्ध गराउने बेलायती संस्था जिफोरएसको कार्यालयमा बुधबार भएको आत्मघाती हमलामा परी त्यहाँ कार्यरत ९ नेपाली घाइते भएको स्रोतले जनाएको छ । घाइतेहरूमध्ये तीन जनालाई गोली लागेको छ । उनीहरूसहित ६ जनाको अवस्था गम्भीर छ भने ३ जना सामान्य घाइते भएका छन्।
तीन जनामध्ये एकजनालाई पेटमा र अर्कालाई देब्रे तीघ्रामा गोली लागेको छ । अर्कालाई कम्मर र घुँडामा गोली लागेको छ। एकजनाको खुट्टाको तल्लो भाग जलेको छ। दुई जनाको टाउकोमा घाउ भएको छ तीमध्ये एउटा कानमा पनि चोट लागेको छ । एक जनालाई खुट्टामा छर्रा लागेको छ भने दुईजनाको छातीमा चोट लागेको छ । घाइतेमध्ये ६ जनाको बागराम अस्पताल र ३ जनाको नर्थ केएआइए अस्पतालमा उपचार भइरहेको छ ।
नर्थ केएआइए अस्पतालमा उपचार हुनेहरू सामान्य घाइते रहेको र उनीहरूको आजै डिस्चार्ज हुने बताइएको छ । बुधबार भएको उक्त हमलामा परी एक बेलायती नागरिक सहित कम्तिमा ६ जनाको मृत्यु भएको थियो ।















प्रतिक्रिया दिनुहोस्