लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ
काठमाडौं, १४ मंसिर । महानगरीय प्रहरी वृत्त थानकोटले लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
वृत्तको टोलीले चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट वि आर १ एच ६९०८ नंको भारतीय कारलाई चेकजाँचका क्रममा लागूऔषधसहित भारत विहारका १९ वर्षीय सविर अली र सोही स्थानका ५५ वर्षीय करण सहनीलाई बिहीबार प्रहरीले राति पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभागका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहका अनुसार कारको सिटमा रहेको जेब्रा झोलामा लुकाइछिपाइ लागुऔषध ल्याएको थियो । चेकजाँच गर्दा लागूऔषध भेटिएकाले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए ।
कार्यालयका अनुसार ६९५ एम्पुल डाइजेपाम, ६९६ एम्पुल नुर्फिन र ४९५ एम्पुल फेनार्गन गरी एक हजार ८८६ एम्पुल लागुऔषधका साथै वाइन सिरेफ सात बोत्तलसमेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको जाँचमा संलग्न प्रहरीले जनाएको छ । नेपाललाई भारतले लागूऔषध कारोबारको थलो बनाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्