काठमाडौं, मंसिर १३। नक्कली सुन देखाएर मंगलबार राति बल्खुमा भएको लुटपाटको घटनामा प्रहरीकै संलग्नता खुलेको छ ।
घटनालगत्तै पीडितले खबर गरेपछि प्रहरीले सुरु गरेको अप्रेसनमा नक्कली सुन र नगदसहित पक्राउ पर्नेमा दुईजना प्रहरी हवल्दार भएको खुलेको हो ।
यो खबर आजको नयाँ पत्रिकामा छ, महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको सिआरभी टोलीले राति ११ बजेतिर लुटपाटस्थलनजिकै एक केजी नक्कली सुन र ३६ लाख ६५ हजार रुपैयाँसहित पाँचजनालाई पक्राउ गरेको थियो ।
प्रहरीले औपचारिक रूपमा दुई हवल्दारको नाम सार्वजनिक नगरे पनि स्रोतले उनीहरू महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत शालिग्राम विक र बालाजु वृत्तमा कार्यरत मोहन बम रहेको बतायो ।
प्रहरी स्रोतले भन्यो, ‘बल्खुमा नक्कली सुन देखाएर नगद लुटपाट घटनमा प्रहरी हवल्दारकै संलग्नता देखिएको खुलेको छ । त्यसमध्ये एक ललितपुर परिसर र अर्का बलाजु वृत्तका हवल्दार हुन् ।’
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी शैलेस थापाले पनि प्रहरी संलग्नता रहेको सूचना प्राप्त भएको बताए ।
‘सुन देखाएर लुटपाटमा प्रहरीको संलग्नता भएको भन्ने मैले पनि सुनेँ ।
मातहतका निकायलाई घटनामा जोसुकै संलग्न भए पनि अनुसन्धान गरेर कडा कारबाही गर्न भनेको छु,’ डिआइजी थापाले भने, ‘घटनामा संलग्न रहेछन् भने उनीहरूविरुद्ध फौजदारी मुद्दा चल्छ । मैले निर्देशन दिइसकेको छु ।’
प्रतिक्रिया दिनुहोस्