नेपाल–भारत पेट्रोलियम पाइपलाइन तीन महीनाभित्र सञ्चालनमा आउने

काठमाडौं,१२ मंसिर । नेपाल–भारत पेट्रोलियम पाइपलाइन आगामी तीन महीनाभित्र सञ्चालनमा आउने परियोजनाले दाबी गरेको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३९.२ किलोमिटर भू–भागमध्ये २१ किलोमिटर क्षेत्रमा पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ ।
बढीमा तीन महीनाभित्र काम सम्पन्न भई भारतको पटनाबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ ल्याउन सकिने परियोजना कार्यालय सिमराका इञ्जिनीयर शरदप्रसाद पौडेलले दाबी गरेका छन् । परियोजना इञ्जिनीयरले तीन महीनामै पाइप लाइनमार्फत् पेट्रोलियम पदार्थ ल्याउने दाबी गरेपनि नेपालतर्फ मात्रै १८.२ किलोमिटर पाइप बिछ्याउने काम बाँकी नै छ ।
पाइप बिछ्याइने पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने आठ किलोमिटर क्षेत्रमा करीब पाँच हजार रुख काट्ने काम शुरु नै भएको छैन । उता मोतिहारीदेखि रक्सौलबीचमा केही ठाउँमा पाइप बिछ्याउने काम पनि बाँकी छ । त्यस्तै पेट्रोलियम पदार्थ भण्डारणका लागि आवश्यक पर्ने डिपो पनि तयार भएको छैन । भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म बनिरहेको पेट्रोलियम पाइपलाइनको लम्बाई ७० किलोमिटर छ ।
प्रतिक्रिया दिनुहोस्