काठमाडौं, मंसिर १२ ।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको दस्तखत किर्ते गरेर जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा वाईसीएलका पूर्व केन्द्रीय सदस्य पक्राउ परेका छन् ।
पर्साको धोविनी गाउँपालिका ३ हरिहरपुर घर भई हाल वीरगञ्ज महानगरपालिका वडा १३ बस्ने २६ वर्षीय सन्तोष कुमार पाण्डेयलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीमाथि आईजीपी खनालको दस्तखत किर्ते गरेर राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोप छ ।
उनले विभिन्न व्यक्तिलाई विश्वासमा पारेर ७ लाख भन्दा बढी रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
पाण्डेयले प्रहरी महानिरीक्षक खनालको नामसहितको किर्ते दस्तखत गरेको नक्कली नियुक्त पत्र समेत विभिन्न व्यक्तिहरुलाई बाँडेर ठगी गर्ने गरेका थिए ।
राष्ट्रिय अनुसन्धान विभागको लेटरप्याडमा नियुक्तीपत्र बनाएका पाण्डेयले त्यसको तल प्रहरी प्रधान कार्यालय लेखेको र त्यसमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको दस्तखत किर्ते गरेको पाइएको पर्साका प्रहरी प्रमुख रेवती ढकालले जानकारी दिए ।
पाण्डेयले बाराको सुवर्ण गाउँपालिका वडा नं. ५ बस्ने प्रदीप कुमार ठाकुरलाई राष्ट्रिय अनुसन्धानको प्रहरी जवान पदमा जागिर लगाइदिने भनेर १ लाख ७० हजार, महागढीमाई नगरपालिका वडा नं. २ बस्ने हरिन्द्र ठाकुरको छोरा उमेश ठाकुरलाई राष्ट्रिय अनुसन्धानको प्रहरी जवान पदमा जागिर लगाइदिने भन्दै १ लाख ५० हजार र महागढीमाई नगरपालिका वडा नं. १ बस्ने झगरु महतो कोईरीको छोरा धिरेन्द्र कुशवाहालाई राष्ट्रिय अनुसन्धानको प्रहरी सहायक निरीक्षक पदमा जागिर लगाइदिने भनेर ४ लाख रकम ठगी गरेको ढकालले जानकारी दिए ।
पाण्डेयविरुद्ध ठगी तथा लिखत सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको र उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्