विदेश जाने बाध्यताको अन्त्य गर्न सामाजिक सुरक्षा योजना : श्रममन्त्री विष्ट

काठमाडौं ,११ मंसिर। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले आम नेपालीको जीवनमा दीर्घकालीन महत्व राख्ने योजना लिएर आएको बर्ताएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रममा मन्त्री विष्टले आउँदा दिनमा श्रमजीवीको जीवनमा देखिएका असुरक्षित अवस्थाको अन्त्य हुँदै निश्चिन्त हुने अवस्था आउने स्पष्ट पारे।
उनले सरकारको नयाँ योजनाले उद्योगीहरुलाई समेत ढुक्कसँग लगानी र व्यवसाय गर्ने वातावरण प्राप्त हुने बताए । त्यस्तै मन्त्री विष्टले सरकार सन्तुलित एवं दीगो आर्थिक विकास हासिल गर्न बाटोमा हिँडेको बताए । सरकारले ल्याएको योजनाको सफल कार्यान्वयनबाट मात्रै सभ्य समाज, समृद्ध समाजदेखि सुखी समाजको कल्पना गर्न सकिने उहाँले बताए । यो योजनाले व्यक्ति र परिवारको आर्थिक समस्या समाधान गर्ने पनि उनले स्पष्ट पारे ।
विगतमा श्रमिकहरु विभिन्न समस्याबाट प्रताडित हुँदै आए पनि अहिले रोजगारदाता, श्रमिक र सरकारबीचको साझेदारीले यो अवस्था आएको र नेपाल नयाँ युगमा प्रवेश गरेको मन्त्री विष्टले बताए । सरकारले ल्याएको सामाजिक सुरक्षा योजनाको कार्यान्वयनले नेपाली समाज र आम नागरिकको जीवनमा सुखद दिन आउने बताउँदै मन्त्री विष्टले श्रमप्रतिको सम्मान र स्वदेशमै रोजगारीको वातावरण सिर्जना हुने बताए ।
सरकारको प्राथमिकता नै वैदेशिक रोजगारको निर्भरतालाई न्यूनिकरण गर्दै जाने भएकाले विदेशमा रहेका नेपालीलाई पनि स्वदेश फर्काउने मन्त्री विष्टले बताए । त्यस्तै सरकारले हरेक वर्ष मंसिर ११ लाई सामाजिक सुरक्षा दिवसको रुपमा मनाउने पनि मन्त्री विष्टले उल्लेख गरे । मन्त्री विष्टले सामाजिक सुरक्षा योजना अन्तर्गत सबैभन्दा पहिले प्रतिष्ठानतर्फका श्रमिकको सूचीकृत हुने बताउँदै मन्त्री विष्टले क्रमशः स्वरोजगार र अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि समेटिने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्