एकै दिन छुट्टाछुट्टै दुर्घटनामा परी चारजनाको ज्यान गयो

काठमाडौँ, मंसिर १० । छुट्टाछुट्टै दुर्घटनामा परी आज चार जनाको मृत्यु भएको छ ।

महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा मोटरसाइकल र ट्र्याक्टर दुर्घटनामा परी एक महिला र एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको औरही नगरपालिका–१ बस्ने ओमकलादेवी चौधरी र ट्र्याक्टर दुर्घटनामा परी मृत्यु हुनेमा गौशाला नगरपालिका–२ का ३ वर्षीय बालक लालु मण्डल रहेका छन् ।

आइतबार साँझ जिल्लाको बर्दिवासबाट जलेश्वरतर्फ आइरहेका ना २३ प ९३६६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ४ प ८५७१ नम्बरको मोटरसाइकल एकापसमा रामगोपालपुर–७ टिकुलियामा ठक्कर खाँदा महिला चौधरीको मृत्यु भएको थियो भने गौशाला नगरपालिका–२ को निगौल सडकमा ज १ त ३४९१ नम्बरको ट्र्याक्टरले सडकमा खेलिरहेका बालक मण्डललाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खडकाले बताए ।

कञ्चनपुरको भीमदत्तनगरपालिकामा एक युवकको मृत्यु

पूर्व पश्चिम राजमार्गको कञ्चनपुरको भीमदत्तनगरपालिका–२ भाँसीमा बसले मोटरसाइललाई ठक्कर दिँदा मोटरसाइकलमा सवारको एक जनाको आइतबार साँझ मृत्यु भएको छ ।

से ४ प ८१८८ नम्बरको मोटरसाइकलमा सवार बेलौरी नगरपालिका–९ भुडाका अन्दाजी २७ वर्षीय श्रवण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए ।

चौधरीको महाकाली अञ्चल अस्पतालतर्फ ल्याउने क्रममा मृत्यु भएको हो । ठक्कर दिने बसको पहिचान गर्ने कार्य भइरहेको उनले बताए ।

चौधरी महेन्द्रनगर बजारबाट घरतर्फ मोटरसाइकलमा आउँदै गरेका बेला विपरीत दिशातर्फबाट आएको बसले ठक्कर दिएको हो । मृतकको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।

मोरङमा मोटरसाइकल चालकको मृत्यु

मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गए राति पश्चिमबाट पूर्व आउँदै गरेको मे ९ प २७७९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक पथरीशनिश्चरे–१० बस्ने ६५ वर्षीय ओमनाथ उप्रेतीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उप्रेतीको विराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ५३ वर्षीय भरतमणि आचार्य घाइते भएकाले उहाँको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्