के भएको हो निर्मलाका बुवालाई ? स्वास्थ्यका बारेमा संलग्न डाक्टरले यस्तो भने !

काठमाडौँ – निर्मला पन्तका बुवा यज्ञराज पन्तमा तनावको असर देखिको उपचारमा संलग्न डाक्टरले बताएका छन् । पन्तलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौँ ल्याइएको हो ।
बाहिर आए जस्तो मानसिक समस्या नरहेको तर पन्तमा तनावका कारण केही असर देखिएको त्रिवि शिक्षण अस्पतालको मानसिक रोग विभागका डा. सरोज ओझाले जानकारी दिए ।
उनले भने, ‘अहिले नै के भएको हो र अवस्था के छ भन्ने बारे केही भन्न सक्दैनौँ । प्राथमिक रुपमा तत्कालका लागि मेडिसिन विभागले हेरेको र त्यहाँ फिजियोलोजिकल अवस्थाको पूर्ण परीक्षण भएर रिपोर्टहरु आएपछि हामीले उहाँको अवस्था निरीक्षण गर्नेछौँ । तर अहिलेलाई के चाहिँ भन्न सकिन्छ भने उहाँमा तनावको असर देखिएको छ ।’
तनावका कारण केही फरक व्यवहार देखिएको भए पनि अहिले अवस्था सामान्य रहेको र आफूहरुले मेडिसिन विभागसँगको सहकार्यमा काम गरिरहेको डा. ओझाले बताए ।
डा. ओझाले भने, ‘हामी परीक्षणकै क्रममा छौँ । अवस्था नियाली रहेका छौँ । चाँडै नै अवस्था के हो ? भन्ने थाहा लाग्छ ।’
बलात्कारपछि हत्या भएकी १३ वर्षकी छोरी निर्मलाको न्यायका लागि अनशनमा बसेका यज्ञराजले केही असामान्य व्यवहार देखाएको तथा स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उनलाई त्रिवि अस्पताल ल्याइएको थियो ।
प्रतिक्रिया दिनुहोस्