ढोरपाटन आगलागी अपडेटः ३० घर जलेर नष्ट, ४७ परिवार विस्थापित

ढोरपाटन नगरपालिका ९ ( ढोर) नवि गाउँका ३० घर पूर्ण रुपमा जलेका छन् । शनिबार राति २ बजे तिर शुरु भएको आगलागी आइतबार बिहान ८ बजे मात्रै निभाइएको थियो ।
आगलागीबाट नवि गाउँका ४८ परिवार बस्दै आएका ३० घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीपछि घटनास्थल ४८ परिवारको घर ध्वस्त बनेको ढोरपाटन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष हरिबहादुर घर्तीले बताए ।
घरसहित आउँदो पाँच महिनाका लागि सञ्चित गरेर राखिएको खाद्यान्न समेत सबै जलेको छ । ढोरपाटन क्षेत्रका बासिन्दा फागुनदेखि असारसम्म माथिल्लो क्षेत्र नवि गाउँलगायतका स्थानमा बस्दै आएका छन् भने साउनदेखि माघसम्म बोबाङ, अधिकारीचौरलगायतका तल्लो क्षेत्रमा बसाइ सर्छन् ।
अहिले ढोरपाटनका बासिन्दा चिसो मौमसमा जाडो छल्न बेसी झरेका कारण मानवीय क्षति भने नभएको वडा अध्यक्ष घर्तीले बताए । जलेका घरहरु नजिकै रहेका २३ घर भने आरक्षणमा कार्यरत कर्मचारी, नेपाली सेनाको सक्रियतामा जोगाउन सफल भएको गुल्मपति मेजर रविजंग खड्काले बताए ।
ढोरपाटन शिकार आरक्षको सुरक्षार्थ उक्त क्षेत्रमा केही वर्षयता नेपाली सेनाको टोली बस्दै आएको छ । दुई चार जना चौकिदारको भरमा घर सम्पत्ति जिम्मा लगाएर स्थानीय तल्लो बस्तीमा झरेका थिए । आगो कसरी लाग्यो भन्ने खुल्न सकेको छैन । यद्यपी आगो लगाएको आशंकामा मानसिक असन्तुलन भएका एक स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई केही शंकास्पद गतिविधिका आधारमा सोधपुछका लागि पक्राउ गरिएको र घटनाबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए ।
घटनापछि ढोरपाटन नगरपालिकाले तत्कालीन राहतको घोषणा गरेको छ । आगलागीका कारण बस्ती नै उजाड भएकाल अग्निपीडित सबै परिवारलाई नयाँ घर बनाउन प्रति परिवार एक÷एक लाख प्रदान गर्ने निर्णय गरिएको नगरपालिकाका मेयर देवकुमार नेपालीले बताए ।
हरेक घरको जस्ताको छानामा लाग्ने सम्पूर्ण खर्च भने आफूले व्यक्तिगत रुपमा प्रदान गर्ने मेयर नेपालीले बताए।
प्रतिक्रिया दिनुहोस्