जव गम्भीर घाइते बालकले रुँदै आमा खोजे…

काठमाडौं, मंसिर ९ ।  राष्ट्रिय ट्रमा सेन्टरको बेड नम्बर ५१८ । दिपालय सिलगडी नगरपालिका–४ डोटीका १० वर्षीय घाइते बालक नवीन विक आमा, आमा भन्दै रोइरहेका छन्। गत बिहीबार डडेलधुरामा भएको बस दुर्घटनामा परेर उनकी आमा सरस्वती विकको घटनास्थलमै मृत्यु भयो । संयोगले उनका छोरा नवीन बाच्न सफल भए।
नवीनलाई दुर्घटनामा परी आमा कहिल्यै नफर्कने गरी गएको थाहा छैन । उनलाई आफू बिरामी पर्दा आमा अस्पताल नआएकोमा मात्र चिन्ता छ। त्यसैले, बेडमा रुँदै खोजिरहेका छन् आमा।  डडेलधुरामा मेला हेरेर फर्किएको स्कुल बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो । २८ भन्दा बढी घाइते भए । उनी पनि त्यसैमध्येका एक घाइते हुन् । आर्थिक अवस्था कमजोर भएकाले उनको उपचारमा समस्या छ । आर्थिक अवस्था खराब मात्रै होइन उनको हेरबिचार गरिदने पनि कोही छैन।
चिकित्सकले नवीनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएका छन् । उनको हात भाँचिएको छ भने टाउकोमा गम्भीर चोट लागेको छ । तर उनीसँग न त उपचारमा साथ दिने परिवार छ न सम्पत्ति नै। आमाको दुर्घटनामा परी मृत्यु भयो । दिदी दिपा विक घाइते अवस्थामा छिन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बुबा नौ वर्षअघिदेखि नै घरपरिवारको सम्पर्कमा छैनन् । १४ वर्षीय दाइ मुकेश विक बालमजदुर हुन् ।
नवीनलाई हेरविचार गर्ने कोही नभएर हजुरआमा हिरा विकले रेखदेख गर्छिन् । तर, उनी आफूसँग पनि पैसा नभएको दुखेको पोख्छिन् । उपचार कसरी गराउने समस्या भएको बताउँदै उनले सहयोग जुटाइदिन आग्रह गरिन्। हिराले आमा बितेको खबर नवीनलाई गरेकी छैनन् । गाउँमै रहेकी नन्दलाई फोनमा कुरा गर्दै उनले आमालाई पठाइदिन झुटो आश्वासन मात्रै दिइरहेकी छन् । ‘बन्द भएकाले गाडी चलेको छैन, गाडी चलेपछि आमा गाडी चढेर आउनुहुन्छ अहिले नरोऊ’ भन्दै हिराले नवीनलाई सम्झाउँदैमा दिन बितेको छ। यो खबर आजको राजधानी दैनिकले छापेको छ।
प्रतिक्रिया दिनुहोस्