भारतको कर्नाटकमा बस दुर्घटना, २८ जनाको मृत्यु

भारतको कर्नाटक राज्यमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २८ पुगेको भारतीय प्रहरीले जनाएको छ ।
दक्षिणी राज्य कर्नाटकको मन्द्या जिल्लामा एउटा सार्बजनिक यात्रुबाहक बस सडकबाट चिप्लिएर नहरको तालमा खस्दा बसमा यात्रारत २८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । “मृतकमध्ये केही विद्यालयबाट घर फर्किरहेका बालबालिकासमेत रहेका छन्,” एक प्रहरी अधिकारीले एएफपीलाई बताए ।

प्रहरीले बसमा कति जना यात्रा गरिरहेका थिए भन्ने बिषयमा केही बताएको छैन । तर दुर्घटना अत्यधिक तीब्र गतिका कारण गति नियन्त्रण हुन नसक्दा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा हुन आएको छ ।

स्थानीय सञ्चारमाध्यमले भने बसमा ३५ जना यात्रा गरिरहेका बताएका छन् । घटनास्थलबाट विभिन्न टेलिभिजनले खिचेको दृष्यचित्रमा स्थानीयबासीले पानीमा डुबेको बसबाट मृत शरीर निकालिरहेका देखिएको छ ।
घटना भएको केही समयपछि भारतीय उद्धारकर्मी तथा तालिमप्राप्त गोताखोर पनि उद्धारमा पुगेका थिए ।

यसैबीच कर्नाटकका मुख्यमन्त्री एच डी कमास्वामीले दुर्घटनामा परेका पीडितका परिवारलाई राहत सहयोग गर्ने बताउनुभएको छ ।

भारतमा प्रत्येक बर्ष सडक दुर्घटनामा परी एक लाख ५० हजार व्यक्तिले ज्यान गुमाउने गरेका छन् । भारतमा हुने सडक दुर्घटना प्रायः कमजोर सडक संरचना, पूराना सवारी साधन र चालकको लापर्बाहीका कारण हुनेगरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्