काठमाडौं , ७ मंसिर। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य समयमै सम्पन्न गर्न आग्रह गरेका छन् । शुक्रबार विमानस्थलको निरीक्षण र निर्माणको कामबारे जानकारी लिँदै सभापति देउवाले थपिएको समयमा विमानस्थलको काम पुरा गर्न आग्रह गरेका हुन्।
नेपाली कांग्रेसको महासमिति बैठकमा प्रस्तुत गरिने राजनैतिक प्रस्ताव मस्यौदाको सन्दर्भमा राय, सुझाव संकलनका लागि भैरहवामा आयोजित प्रदेश ५ स्तरीय भेलामा सहभागि हुन बिहिबार रूपन्देही आएका सभापति देउवाले शुक्रवार विमानस्थलको निरीक्षण गरेका हुन् ।
सभापति देउवाले तिनवर्षमा निर्माण पुरा हुनुपर्ने विमानस्थल पाँच वर्षसम्म पनि पुरा नहुनु आफैंमा दुःखद भएको बताए। उनले विमानस्थललाई आवश्यक बजेटको कमी हुन नदिन कांग्रेसले सरकारसँग आवश्यक पहल गर्ने उल्लेख गर्दै निर्माणको काम छिटो गर्नेसँगै गुणस्तरमा समेत ध्यान दिन आयोजनालाई आग्रह गरे।
सो अबसरमा विमानस्थल निर्माण आयोजनाका निमित्त प्रमुख प्रवेश अधिकारीले सभापति देउवाले विमानस्थलको कार्यप्रगतिका बारेमा जानकारी गराएका थिए।
प्रतिक्रिया दिनुहोस्