मुसहर बालकको शैक्षिक प्रगतिबारे प्रचण्डले लिए जानकारी

काठमाडौं , ६ मंसिर ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गतवर्ष विद्यालय भर्ना अभियानका क्रममा अभिभावकत्व ग्रहण गरेका उत्पीडित समुदायका दुई बालकको शैक्षिक प्रगतिबारे जानकारी लिएका छन् ।
निर्वाचन क्षेत्रका हरेक कार्यक्रममा सहभागी हुने क्रममा चितवन जाँदा अध्यक्ष प्रचण्डले अभिभावकत्व ग्रहण गरेका बालकहरु अरुण माझी र पत्रुश मुसहरको पढाइको बारेमा बारम्बार जानकारी लिने गरेका थिए ।
बुधबार उनीहरु पढिरहेको साझापुर मावि पुगेर प्रचण्डले आफूले अभिभावकत्व ग्रहण गरेको बालकहरुको खाजा, कपी किताव र अन्य आवश्यक शैक्षिक सामाग्रीबारे जिज्ञासा राखेका थिए ।
गतवर्ष अध्यक्ष प्रचण्डले अल्पसंख्यक मुसहर समुदायका बालबालिकाहरुका लागि देशैभरीका सबै पालिकाहरुमा खाजाको व्यवस्था गर्न रकम निकासाका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
अध्यक्ष प्रचण्डको पहलमा यस वर्षबाट मुसहर बालबालिकाका लागि देशैभर विद्यालयमा खाजाको व्यवस्थाका लागि रकम निकासा भएको छ ।
साझापुर माविको स्वर्ण महोत्सव उद्घाटन गर्न पुगेका प्रचण्डले सो अवसरमा सांसद कोषबाट २० लाख रुपैयाँ विद्यालयको गुणस्तर र भौतिक पूर्वाधारको निर्माणको लागि प्रदान गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्