काठमाडौं, ४ मंसिर । भारतको उत्तराखण्डमा एउटा यात्रुबाहक बस सडकबाट चिप्लिएर खोल्सामा खस्दा त्यसमा यात्रारत १२ जनाको मृत्यु भएको भारतीय प्रहरीले बताएको छ । सो दुर्घटनामा बसमा यात्रारत अन्य १३ जना घाइते भएका छन् ।
घाइतेमध्ये केहीलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गरिएको छ भने गम्भीर चोट लागेका केहीलाई उपचारका लागि देहरादुन पठाइएको भारतीय अधिकारीले बताएका छन् ।
उत्तराखण्डको प्रान्तीय राजधानीबाट १ सय किलोमिटर टाढा उत्तरकाँशी जिल्लाको ग्रामीण क्षेत्रमा दुर्घटना भएको बताइएको छ ।
जिल्लाको भित्री क्षेत्रमा चल्ने सो सार्वजनिक बस सडकबाट करिब १ सय ५० मिटर तल खोल्सामा खसेको थियो ।
स्थानीय र प्रहरीको सहयोगमा दुर्घटनामा घाइते यात्रु र मृतकको शव निकालिएको थियो । भारतमा सडक दुर्घटनाका कारण प्रतिदिन औसत ४ सयजनाको ज्यान जाने गरेको तथ्यांक छ ।
दुर्घटनाको कारण कमजोर सडक संरचना, चालकको लापर्बाही, पुराना सवारीसाधन र तीव्र गति नै हुने गरेको अधिकारीहरूको भनाइ छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्