चार देशका लागि सिफारिस राजदूतको संसदीय सुनुवाइ प्रक्रिया भोलिबाट

काठमाडौं, मंसिर ४। विभिन्न चार देशका लागि सिफारिस राजदूतको संसदीय सुनुवाइ प्रक्रियाका लागि संसदीय सुनुवाइ विशेष समितिले भोलिका लागि प्रारम्भिक बैठक आह्वान गरेको छ ।
बैठकबाट प्रस्तावित राजदूतहरूविरुद्ध उजुरी आह्वान हुने समितिका सदस्यहरूले बताएका छन् । गएको कात्तिक २५ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार चार देशका राजदूतको सुनुवाइ प्रक्रिया अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समितिलाई पत्राचार गरेको थियो ।
संसदीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले भोलिको समितिको प्रारम्भिक बैठकबाट सुनुवाइको प्रक्रिया अघि बढ्ने जानकारी दिए ।
नेपालको संविधानको धारा २९२ अनुसार नियुक्तिपूर्व राजदूतहरूको संसदीय सुनुवाइ हुने व्यवस्था छ । सुनुवाइ समितिले सिफारिस अनुमोदन गरेमा नियुक्तिको प्रक्रिया अघि बढ्नेछ । समितिको दुई तिहाइले प्रस्तावित व्यक्तिलाई अस्वीकृत गर्न सक्नेछ । मन्त्रिपरिषद्ले भारतका लागि पूर्वमन्त्रीसमेत रहेका नीलाम्बर आचार्यलाई सिफारिस गरेको छ ।
आचार्यलाई अफगानिस्तान र भुटानको गैरआवसीय राजदूतका रूपमा समेत काम गर्ने गरी सिफारिस गरिएको हो । साउदी अरेवियाका पूर्वराजदूत रहनुभएका उदयराज पाण्डेलाई मलेसियाको राजदूतमा सिफारिस गरिएको हो । पाण्डेलाई इन्डोनोसियाको गैरआवसीय राजदूतको पनि जिम्मेवारी दिइएको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललाई यूएईका लागि राजदूतमा सिफारिस गरेको छ ।
इजरायलका लागि आवसीय र साइप्रसमा गैरआवसीय राजदूतको जिम्मेवारीमा रहनुभएका निरञ्जनकुमार थापालाई फिर्ता बोलाउँदै सरकारले नयाँ राजदूत सिफारिस गरेको छ ।
सरकारले थापाको स्थानमा डा. अञ्जान शाक्यलाई सिफारिस गरेको छ । समितिले सुनुवाइ प्रक्रिया सुरु गरेको ४५ दिनभित्र स्वीकृत वा अस्वीकृतसम्बन्धी जानकारी सिफारिस गर्ने निकायलाई दिनुपर्ने कार्य्विधिमा व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्