काठमाडौं, ३ मंसिर । आईसीसी टि–ट्वान्टी महिला विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ ।
सोमबार बिहान इंग्ल्यान्ड र घरेलु टोली वेष्ट इन्डिजबीचको नतिजासँगै सेमिफाइनल समीकरण पूरा भएको हो । घरेलु टोली वेष्ट इन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । इंग्ल्यान्ड पनि समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
११६ रनको सामान्य चुनौति पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले १९.३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेटायो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धा्रित २० ओभरमा ८ विकेटको क्षतिमा ११५ रन बनाएको थियो ।
वेष्ट इन्डिजले समूह ए को चार खेलमा शतप्रतिशत जित हात पार्दै ८ अंक बनाएर सेमिफाइनल पुगेको हो । इंग्ल्यान्डले पनि ४ खेलबाट ५ अंक बनाएर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
फाइनल प्रवेशको लागि अब वेष्ट इन्डिजले समूह बी को उपविजेता बनेको अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । तयस्तै, अर्को सेमिफाइनलमा समूह बी को विजेता भारतले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्