स्मारक ए डिभिजन लिग: थ्रीस्टारको शानदार जित

काठमाडौं, २ मंसिर । थ्रीस्टार क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार भएको खेलमा  ब्रिगेड ब्वाइज क्लबलाई ५-१ गोलले हराएको छ।
पहिलो हाफमा १-० गोलले अगाडि रहेको थ्रीस्टारले अन्तिम १० मिनेटमा ३ गोल थपेको थियो। थ्रीस्टारका रजिन धिमाल, विक्रम लामा, निराजन खड्का, रन्जन विष्ट र सुनिल बलले एक एक गोल गरे। रजिनले आठौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। सुनिलले ५२ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाएका थिए।
७४ औँ मिनेटमा रजत तिवारीले गोल  गर्दै ब्रिगेड ब्वाइजलाई खेलमा फर्काउने प्रयाश गरेका थिए। तर रन्जनले ८५ औँ मिनेटमा गोल गर्दै थ्रीस्टारको अग्रता दोब्बर बनाए। निराजनले ९० औँ मिनेट र विक्रमले इन्जुरी समयमा गोल थपेका थिए। दुई खेलबाट ६ अंक भएको थ्रीस्टार शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दीको पनि दुई खेलबाट ६ अंक छ।
थ्रीस्टारका विक्रम करिब ९ महिनापछि खेलमा फर्किएका हुन्। खेल्नेक्रममा गम्भिर घाइते भएका विक्रमले लामो समय मैदान बाहिर बस्नु परेको थियो। यसअघि आईतबार नै भएको पहिलो खेलमा पुर्व विजेता नेपाल पुलिसले मछिन्द्रसँग गोलरहित बराबरी खेल्यो।
पहिलो खेलमा जावलाखेल युथ क्लबलाई १–० गोलले हराएको पुलिसले मच्छिन्द्रविरुद्ध गोल गर्न सकेन। मच्छिन्द्र पहिलो खेलमा च्यासल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो।
दुई खेलपछि पुलिसको ४ र मच्छिन्द्रको दुई अंक छ।
प्रतिक्रिया दिनुहोस्