राष्ट्रिय परिचयपत्र वितरण सोमबारदेखि, १०१ वर्षीया भगवतीदेवी भण्डारीबाट शुभाराम्भ
काठमाडौं, २ मंसिर । राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ सोमबारदेखि हुने भएको छ । पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरकी १०१ वर्षीया ज्येष्ठ नागरिक भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर नेपालमै पहिलो पटक राष्ट्रिय परिचयपत्र वितरण कार्यको थालनी गर्न लागिएको हो ।
सोमबार पाँचथरबाट भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्य शुभारम्भ गर्न गृहमन्त्री रामबहादुर थापा सोमबार पाँचथर आउने कार्यक्रम तय भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो । वयोवृद्धा भण्डारीबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्यको थालनी भएको थियो ।
राष्ट्रिय परिचयपत्र वितरणको कार्यलाई राष्ट्रिय उत्सवको रूपमा मनाउन शुभारम्भ कार्यक्रममा प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं– २ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, गृहसचिव प्रेमकुमार राई लगायत विशिष्ट व्यक्तित्वसमेत सहभागी हुने निर्देशक न्यौपानेले जानकारी दिनुभयो ।
उक्त कार्यक्रमको तयारी पूरा भएको तथा सोही अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम समेत आयोजना गरिएको उहाँले बताउनुभयो ।
सोमबार नै पाँचथरमा ५० जना नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । यसका लागि उहाँहरूको नामावली जिल्ला प्रशासन कार्यालय पाँचथरमा सार्वजनिक गरिएको छ । विवरण सङ्कलनको समयमा जस्तै राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने व्यक्तिको जैविक विवरण परीक्षण गरेर मात्रै वितरण गर्ने विभागको तयारी छ ।
सोमबारदेखि पाँचथरमा निरन्तर राष्ट्रिय परिचयपत्र वितरणको कार्य अघि बढ्ने विभागले जनाएको छ । पाँचथर जिल्लामा नेपालमै पहिलो पटक गत असार ५ गते देखि राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको कार्य भइरहेको छ । हालसम्म पाँचथरका ५२ हजार नेपाली नागरिकको विवरण सङ्कलन भइसकेको पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिनुभयो ।
सरकारले आगामी तीन वर्षभित्र नेपालका सबै जिल्लाबाट राष्ट्रिय पहिचान बोकेको राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरिरहेको विभागले जनाएको छ । यसै आर्थिक वर्षमा प्रदेश नं– १ का झापा र सङ्खुवासभा, प्रदेश नं– २ का महोत्तरी र सप्तरी, प्रदेश नं ३ का ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशका तनहुँ र स्याङ्जा, प्रदेश नं ५ का कपिलबस्तु र गुल्मी, कर्णाली प्रदेशका सल्यान र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र अछाम जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणको थालनी गर्ने कार्यक्रम रहेको विभागका निर्देशक न्यौपानेले जानकारी दिनुभयो ।
ती जिल्लामा कार्यालय स्थापना तथा जनशक्ति व्यवस्थापनको कार्य चाँडै शुरु हुने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्