रोनाल्डोविनाको पोर्चुगल नेसन्स लिगको सेमिफाइनलमा प्रवेश

काठमाडौं, २ मंसिर । सुपर स्टार क्रिस्टियानो रोनाल्डोविनाको पोर्चुगल युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेसन्स लिग अन्तरगत शनिबार राति इटालीसँग गोलरहित बराबरी खेलेपनि पोर्चुगल सेमिफाइनलमा पुग्न सफल भएको हो । पोर्चुगल एक खेल बाँकी छदै नेसन्स लिग ए को समूह ३ मा को समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । इटाली समूह उपविजेता बन्दा पोल्यान्ड भने पुछारमा रहँदै रेलिगेसनमा पर्यो ।
घरेलु मैदानमा मिलानमा भएको खेलमा इटालीले गोलको अवसरलाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिन पुग्यो । खेलको पाँचौ मिनेटमा नै इटालीले अग्रता लिने मौका खेर फालेको थियो । चिरो इम्मोबिलेले चार यार्डबाट गरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । लोरेन्जो इनसिग्नेले अर्को मौका खेर फालेको थियो । दोस्रो हाफमा घरेलु टोलीले बल नियन्त्रणमा राखेपनि गोल गर्न सकेन ।
पहिलो हाफको तुलनामा दोस्रो हाफमा पोर्चुगलले केही अवसर सिर्जना गरेपनि सदुपयोग हुन सकेन । वैकल्पिक खेलाडी जोआओ मारियाले गोलका मौका खेर फाल्दा इटालीका गोलरक्षक जियानलुजी डोनाररुम्माले विलियम कार्भाल्होको सटलाई बचाएका थिए । त्यसपछि पनि गोल निस्कन नसक्दा खेल गोलरहित बराबरीमा सकियो ।
पोर्चुगलले खेलेका पछिल्ला खेलमा रोनाल्डो अनुपस्थित रहेका छन् । रोनाल्डो रसिया विश्वकपपछि क्रोएसियाविरुद्धको मैत्रीपूर्ण खेलयता उनले विश्राम लिने निर्णय गरेका हुन् । रोनाल्डाको अनुपस्थितिमा पनि पोर्चुगलले पछिल्ला ५ मध्ये ३ खेलमा जित हात पारेको छ । क्रोएसियासँग १–१ गोलको बराबरीमा रोकिँदा त्यसयता पोर्चुगलले इटालीलाई १–०, पोल्यान्डलाई ३–२ र स्कटल्यान्डलाई ३–१ ले पराजित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्