प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेको गम्भिर आरोप लगाएका छन् । उनले भने,‘प्रधानमन्त्रीले काम होईन, बढि कुरा गर्नुभयो । उहाँ आफूमा शक्ति केन्द्रित गर्न उद्धत हुनुहुन्छ । उहाँमा सत्ता र शक्तिको उन्माद छ ।’
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पुग्न अब चार दिन मात्रै बाँकी छ । समग्र रुपमा यो सरकार असफलतातर्फ उन्मुख छ । निर्वाचनको बेला जनतामा झुठको पुलिन्दा बाँड्यो । तर, अहिले काम गर्न सकेको छैन् ।’ क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले प्रधानमन्त्री ओलीले २५ अर्बभन्दा माथिका परियोजनाहरु आफू मातहातमा केन्द्रित गरेकोमा पनि आपत्ति जनाए । केसीले भने,‘यो ९ महिनामा सरकारले के चाहीँ राम्रो काम गर्यो त? वृद्धभत्ताको कुरा उठाउँदा उठाउँदै म त थाकिसकें ।
सत्तामा आउनुभन्दा पहिले ओलीजी र प्रचण्डजीले भ्रष्टाचारीहरुलाई जेल हाल्छौं, कारबाही गर्छौं भनेर चर्को स्वरमा बोल्नुभयो । तर, सत्तामा आएपछि अहिलेसम्म केही भएको छ त ? बरु बुढीगण्डकी परियोजना बिना प्रतिष्पर्धा दिईयो ? वाईडबडीको विवाद त्यस्तै छ । साँढे ३३ केजी सुन कहाँ छ ? यो प्रकरणमा पक्राउ परेकाहरुलाई किन गुपचुप राखिएको छ ? राख्नुपर्ने कारण के हो ?’
केसीले सुन तस्करी प्रकरणमा जुनसुकै पार्टीका मान्छे भएपनि जरैकिला उखल्नेगरि काम गर्न केले रोक्यो भनेर प्रश्न गरे । त्यस्तै सिण्डिकेटको अन्त्य गरेको भनेर सरकारले भनेपनि अहिलेसम्म सिण्डिकेट नतोडिएको उनको आरोप छ । उनले भने,‘सरकारले जुनतारा झार्ने कुरा गर्छ । तर, काम भने शुन्य छ ।’
पार्टीको केन्द्रीय कार्य समिति बैठक भोली बोलाइएको भएपनि बैठकका एजेण्डाहरु अहिलेसम्म थाहा नभएको उनले जनाए । उनले भने,‘भोलि बैठक छ । तर, अहिलेसम्म एजेण्डा थाहा छैन् ।’
प्रतिक्रिया दिनुहोस्