काठमाडौं , २९ कात्तिक। सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ ।
राप्रपाका नेता समेत रहेका थापालाई प्रचण्ड सरकारले राजदूत बनाएको थियो । तर, कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले थापालाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
उनलाई तीन साताको म्याद दिइएको छ । रिक्त भएको राजदूत पदमा अञ्जान शाक्यलाई सिफारिस गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
सरकारले त्यही दिन भारतका लागि नेपाली राजदूतमा निलाम्बर अचार्य, मलेसियाका लागि राजदूतमा उदयराज पाण्डे र यूएईका लागि नेपाली राजदूतमा परराष्ट्रका सहसचिव कृष्णप्रसाद ढकाललाई सिफारिस गरेको थियो । साथै दक्षिणअफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई पनि फिर्ता बोलाउने निर्णय भएको छ ।
मन्त्रिपरिषद् बैठकले तत्कालीन राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको करिव ७१ रोपनी जग्गा नेपाल ट्रष्ट मातहतमा ल्याइएको छ । साथै सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा मृत्यु भएका रामविलास महतोको परिवालाई १० लाख राहत दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्