काठमाडौं , २८ कात्तिक । आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ आज समापन गरिँदै छ ।
उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व समापन गरिन लागेको हो । छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका छन् ।
छठको तेस्रो तथा मूख्य दिन हिजो अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अघ्र्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् ।
काठमाडौंमा गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनले पूजाआजा गरिरहेका छन् ।
उता, जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा ब्रतालुहरुको घुईचो लागेको छ ।
दुलही झैं सिंगारिएका तलाऊहरुमा हजारौं भक्तजन भेला भएर पूजा आराधना गरिरहेका छन् । वीरगञ्जको घडीअर्वा पोखरीमा पनि छठको उत्तिकै रमझम रहेको छ ।
छठको उल्लास नवलपरासीमा पनि कम्ति छैन । परासीसंँगै उनवच, त्रिवेणी, नवलपुर क्षेत्रलगायतका नदी र तालहरुमा पनि पूजाआजाका लागि भक्तजन एकत्रित भएका छन् ।
उता, झापाको मेची नदी, विरीङ, मावा, रतुवा, निन्दालगायतका नदी किनारमा पनि भक्तजन भेला भएर पूजा आराधना गरेका छन् ।
सप्तरीको कोशी व्यारेज, भारदह, छिन्नमस्ता, कञ्चनपुर सदरमुकाम राजविराजसहितका स्थानमा पनि उत्तिकै उल्लासले पर्व मनाइँदै छ ।
कोशीव्यारेजमा भारतको पूर्णिया, फारबिसगञ्ज, राजपुरसहित स्थानबाट छठ मनाउन सयौं ब्रतालु आएका छन् ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ ।
आदीकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको बनाउन भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेको प्रसंग यस पर्वसँग जोडिएको छ ।
त्यसैगरी महाभारतकालमा द्रौपदीसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ ।
प्रतिक्रिया दिनुहोस्