युवापुस्ताले चासो नदिँदा परम्परागत पञ्चेबाजा लोप हुँदै

काठमाडौं, २७ कात्तिक। युवापुस्ताले चासो नदिँदा परम्परागत रूपमा चलनचल्तिमा आएको पञ्चेबाजा बजाउने प्रचलन लोप हुँदै गएको छ ।
विवाह–ब्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा रामपुर क्षेत्रमा अहिले लोपोन्मुख अवस्थामा छ ।
परियार समुदायले बजाउँदै आएको पञ्चेबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नभएका कारण लोप हुँदै गएको छ । पञ्चेबाजा बजाउने चलन हट्दै पनि जान थालेको छ ।
बाउबाजेको पेशा र सीपलाई पछिल्लो पुस्ताले अवलम्बन नगर्दा संस्कृति नै हराउन थालेको रामपुर नगरपालिका–६ विजयपुरका ८२ वर्षीय हुमबहादुर दर्जीले बताए । जानेबुझेदेखि नै पञ्चेबाजा बजाउन थालेपनि उमेर ढल्केपछि बजाउन छाडेको उनले बताए ।
विवाह, गाउँघरमा हुने विभिन्न शुभकार्य तथा सांस्कृतिक कार्यक्रममा तीन दिनसम्म लगातार बाजा बजाएर समय बिताएको दर्जी बताउँछन् । पुरानो कला–संस्कृति हराउन थालेकामा उनले चिन्ता व्यक्त समेत गरे।
“नौमती पञ्चेबाजा हिजोआज समुदायबाटै लोप हुन थालेको छ”, दर्जीले भने, “कला–संस्कृति लोप हुँदै जाँदा पहिचान नै मेटिन थालेको छ”, उनले भने ।
प्रतिक्रिया दिनुहोस्