काठमाडौं, २७ कार्तिक । पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालले पत्नी सीतालाई स्वदेश तथा विदेशका ठूला अस्पतालमा आधुनिक पद्धतिबाट उपचार गराए । तैपनि अपेक्षित रूपमा निको भएन ।
पछिल्लो समय सीता दोस्रो व्यक्तिको सहाराबिना हिँडडुल गर्न नसक्ने अवस्थामा छिन् ।
लामो समयदेखि मधुमेह, उच्च रक्तचाप तथा थाइराइड उपचार गराउँदै आएकी सीताको अवस्था थप जटिल बन्दै गएपछि अध्यक्ष दाहालले प्राकृतिक उपचारको विकल्प रोजेका छन् ।
यसैका लागि उनी सोमबार परिवारसहित म्याग्दीको बेनी ४ स्थित सिंगा तातोपानी पुगे । उनका साथमा छोरी गंगा तथा निजी चिकित्सक पनि छन् ।
यहाँको तातोपानी ग्यास्ट्रिक, हाडजोर्नी, मुटुको रक्तचाप र छाला उपचारमा प्राकृतिक अस्पताल मानिन्छ ।
दाहाल दम्पतीसँगै संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा, श्रीमती नैनकला थापा, बहिनी रेनु मगर र ज्वाइँ प्रेम आले पनि तातोपानी कुण्डमा डुब्न आएका छन् ।
सिंगा तातोपानीमा डुबेर उपचार गर्न स्थानीय मात्र होइन, देशका विभिन्न ठाउँबाट बर्सेनि सयौं संख्यामा बिरामी म्याग्दी आउँछन् ।
दाहालको सचिवालयका अनुसार उनीहरूको टोली थप दुई दिन तातोपानीमा बस्ने कार्यक्रम छ ।
दाहालनिकटस्थ योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले सीता दाहाललाई तातोपानीमा डुब्दा कस्तो हुन्छ, प्रतिक्रिया हेरी बसाइ तय हुने बताए । -कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्