आज छठ पर्वको दोस्रो दिन, खरना मनाइँदै

काठमाडौ, २६ कात्तिक । छठ पर्व अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । आराध्यदेव सूर्यको उपासना गरी यो पर्व मनाइने गरिन्छ । जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ ।
खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी दिनभर उपवास बस्ने गरिन्छ ।
बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलोमा र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र गम्हरीको चामलको खीर पकाइन्छ । गम्हरी चामल नभएमा धानको चामलको प्रयोग गरिन्छ । कतिपय परिवारमा खीरका साथै रोटी पनि पकाइन्छ ।
यस दिनको नैवेद्य चढाउने बेलामा जतिवटा अर्घदान गरिने हो, त्यतिवटा स्थानमा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ । यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा मूला, पान र सुपारी आदि राखिन्छन् ।
नैवेद्यलाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ नैवेद्यलाई उत्सर्ग गरिसकेपछि व्रती र परिवारजनले प्रसाद ग्रहण गर्छन् ।
प्रतिक्रिया दिनुहोस्