खाका स्पष्ट नभएको भन्दै राप्रपा एकता भाँडियो, अध्यक्ष थापाको राजीनामा माग
काठमाडौं, २५ कार्तिक । तीन राप्रपा एकीकरणको अन्तिम चरणमा पुग्नै लाग्दा फेरी भाँडिएको छ ।
तिनै पक्षविच एकताको अन्तिम गृहकार्यमा जुटेको बताएका पार्टीले आइतबार मध्यान्ह राप्रपा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष कमल थापा र पशुपति शमशेर राणाबीच भएको गोप्य छलफलपछि एकता भाँडिएको खुलासा भएको छ ।
दिउँसो कमल थापा नेतृत्वको राप्रपाको केन्द्रीय समितिको बैठक पार्टी कार्यालय धुम्बराहीमा बसिरहेका बेला राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाको फोन कमल थापालाई आएपछि थापा केन्द्रीय समिति बैठक छाडेर राजधानीकै एक होटलमा राणालाई भेट्न पुगेका थिए
।
त्यहाँ दुवै अध्यक्षबीच एकताबारे कुराकानी सुरु भयो । अध्यक्ष थापाले एकतापछि पार्टीको चुनाव चिन्ह गाई राख्नुपर्ने प्रस्ताव गरे । तर, राणाले थापाको प्रस्ताव ठाडै अस्वीकार गरे ।
उनले चुनाव चिन्ह हलो नै राख्नुपर्ने नत्र एकता हुन नसक्ने बताए । दुवै अध्यक्षबीच चुनाव चिन्हका बारेमा झण्डै एक घण्टा कुरा हुँदा पनि सहमति जुट्न सकेन पछि एकता भाँडिएका हो ।
स्रोतका अनुसार चुनाव चिन्हका बारेमा दुवैले अडान नछाडेपछि एकता नै नगर्ने भन्दै राणा र थापा दुवै बाहिरिएका थिए ।
त्यहाँ राप्रपाका नेताहरु थापालाई कुरेर बसिरहेका थिए । जब थापा बैठकस्थल पुगे र भने, ‘अब तत्काल पार्टी एकता हुँदैन ।’
उता राप्रपाका १८ केन्द्रीय सदस्य सहित नेताहरुको भेलाले दलभित्र निरङ्कुशता बढ्दै गएको निष्कर्ष निकाल्दै अध्यक्ष कमल थापाको राजीनामा माग गरेका छन् ।
भेलाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई प्रजातान्त्रिक प्रक्रियाबाट सञ्चालन गर्न नसकेको भन्दै अध्यक्ष थापाको राजीनामा माग गरिएको हो ।
पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङका अनुसार दलको साङ्गठनिक गतिविधिप्रति असन्तुष्ट भई उपाध्यक्ष, महामन्त्री, केन्द्रीय सदस्यलगायत १८ नेताले गरेको भेलाले दलभित्र निरङ्कुशता बढ्दै गएको निष्कर्ष निकाल्दै गुट तथा उपगुटको अन्त्य गर्न नेतृत्व संवेदनशील नभएको अध्यक्ष थापामाथि आरोप लगाएको छ ।
असन्तुष्ट पक्षले पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा(प्र) राजसंस्था वा गणतन्त्रबारे प्रस्ट नभइकन एकताको प्रक्रिया शुरु गरेको भन्दै आजको केन्द्रीय कार्य समितिको बैठक बहिष्कार गरेको छ । असन्तुष्ट नेतामा पार्टीका उपाध्यक्षद्वय बुद्धिमान तामाङ र राजभण्डारी, महामन्त्रीद्वय जयन्त चन्द र धवलशम्शेर राणा तथा केन्द्रीय सदस्यहरु कालीप्रसाद जोशी, हेमबाबु लेखक, सविना शाह, गोविन्द खनिया, जनककुमारी, भीमप्रसाद गौचन, देवीप्रसाद कँडेल, मुकुन्दश्याम गिरी, जयलाल पुन, रामबहादुर शाह, प्रल्हाद शाह, सत्यन्द्र सिंह, रामचन्द चतुरवेदी र लोकेन्द्रबहादुर स्वार रहेका छन् ।
यसैबीच राप्रपा ९प्र०का उपाध्यक्ष विष्णु भट्टराईले दुवै पार्टी एकीकरणको औचित्य प्रस्ट नभई गरिने एकताको अर्थ नहुने बताउँदै त्यस विषयमा पार्टी अध्यक्ष राणालाई छिट्टै स्मरणपत्र बुझाइने तयारी भएको जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्