काठमाडौं, कात्तिक २५ । नेपाल एयरलाइन्सले काठमाडौंबाट दाङको तलुसीपुरमा हवाई सेवा थप गरेको छ । सातामा दुई दिन हुँदै आएको उडान अब मंसिर १ गतेदेखि सातामा तीन दिन हुने छ ।
अहिले नेपाल एयरलाइन्सले सातामा दुई दिन सोमबार र शुक्रबार मात्र काठमाडौं–तुलसीपुर उडान गर्दै आएको छ । यात्रुको संख्या बढेको भन्दै बुधबार समेत थप गरेर सातामा तीन दिन उडान गर्न लागिएको हो । ‘यात्रुको माग भए बमोजिम हामीले तुलसीपुर उपमहानगरपालिकासँग सहकार्य गरेर उडान थप गरेका हौं,’ नेपाल वायुसेवा निगमका प्रवक्ता अशोक सिग्देलले भने ।
मंसिर महिनाभरमा यात्रुको चाप र माग भए पुस महिनाबाट दैनिक हवाई सेवा सञ्चालनका लागि निगमले तयारी गरिरहेको पनि नेपाल वायुसेवा निगमका कमर्सियल विभाग प्रमुख टंकनिधि दाहालले बताए । ‘हामीले दैनिक उडान हुँदा यात्रु संख्या पुग्ने अवस्था हुने भयो भने नियमित उडान गर्ने छौं,’ दाहालले बताए ।
लामो समयदेखि बन्द रहेको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा नेपाल एयरलाइन्सले १६ असोजमा सफल परीक्षण उडान गरेको थियो । त्यसपछि सातामा दुई दिन सेवा दिँदै आएको थियो । तुलसीपुर विमानस्थलमा हवाई इन्धन डिपो नभएकाले हवाई जहाज काठमाडौंबाट भैरहवा हुँदै तुलसीपुर जाने गर्दथ्यो ।
अहिले तुलसीपुरमा नै यात्रुको संख्या पूरा भएपछि नेपाल एयरलाइन्सले तुलसीपुर–काठमाडौं सीधा हवाई सेवा सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्