काठमाडौं, कात्तिक २५ । प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आजबाट सुरु भएको छ ।
कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधि गरेर मनाइने छठ पर्व आज ‘नहाय–खाय’ विधिसँगै सुरु भएको हो । केही वर्षअघिसम्म मिथिलाञ्चलमा मात्र मनाइने छठ पर्व पछिल्ला वर्षहरुमा भने काठमाडौं उपत्यकासहित पहाडि जिल्लामा पनि मनाउन थालिएको छ ।
छठ पर्व सुरु भएसँगै गाउँ–बस्तीमा छठी गीत गुञ्जिरहेका छन् । सूर्यदेवको उपासना गरिने यस पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन ब्रतालुले ब्रत संकल्प गरेर पवित्र स्नान गरेर चोखोनितो खान्छन् । पहिलो दिनको यो विधिलाई बोलीचालीमा ‘नहाय–खाय’ भन्ने गरिन्छ ।
पर्वको दोस्रो दिन पञ्चमी तिथिमा ब्रतालुले दिनभरि निराहार ब्रत बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’ विधि सम्पन्न गर्नेछन् ।
यसैगरी, पर्वको मुख्य दिन मानिने षष्ठी तिथिका दिन बिहानै नुवाई–धुवाई गरेर निराहार ब्रत बसेका ब्रतालुले बेलुका अस्ताउँदा सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ्य दिने गरिन्छ । मिथिलामा यो विधिलाई ‘सझुका अरख’ भनिन्छ ।
झिलीमिली पारेर सजाइएको पानीघाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा देखाइएका सामग्री देखाएर अर्को अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुन्छ ।
उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई ‘भोरका अरख’ भनिन्छ ।
मिथिला लोकसंस्कृतिको अभिन्न अंग बनिसकेको यो पर्वको तयारीमा अहिले यस क्षेत्रका नदी, तलाउ र कुण्डसहितका जलाशय मनमोहक ढंगले सिंगारिएका छन् । जनकपुरका गंगा सागर, धनुष सागरसहितका दर्जनौं पोखरी र वीरगन्जको घडीअर्वा पोखरीमा पूजा गर्न भक्तजनको विशेष भीड लाग्ने गर्दछ ।
उता, छठ पर्वका लागि विभिन्न सामग्री खरीद गर्न बजारमा भीड लागेको छ । खासगरी छठमा अनिवार्य रुपमा चढाइने केरा, नरिवल र ऊखु किन्नका लागि पसलहरुमा ग्राहकको भीड देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्